देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक फेरि स्थगित

प्रकाशित मिति:

मंसिर २६, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न बस्ने भनिएको संवैधानिक परिषद्को बैठक फेरि स्थगित भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बिहान नौ बजेका लागि बोलाइएको बैठकमा अन्य सदस्यहरु उपस्थित भएपनि सभापति देउवाले आउन नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको हो ।

बैठक बिहीबार बिहान नौ बजे बस्ने तय भएको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले लोकान्तरलाई जानकारी दिइन् ।

मंगलबार स्थगित भएर पुस ५ गतेलाई तय भएको बैठक आकस्मिकरुपमा आजका लागि डाकिएको थियो । भावी प्रधानन्यायाधीशको विषयलाई लिएर सहमति जुट्न नसक्दा परिषद्को बैठक चार पटक स्थगित भएको छ ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि  न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको  छ । यसअघि पनि सिफारिस भएका जोशीलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरेको र राणापनि विवादित पृष्ठभूमिका भनिएकाले परिषद्बाट नाम सिफारिस हुन सकस परेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यता छ । संवैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।