रोकियो निजामती कर्मचारीहरूको सरुवा ! केही समय मालामाल !!

२६ मंसिर २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, २६ मंसिर । सरकारले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने तयारी गरेको छ । सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नु पर्ने हुँदा सरुवा रोक्न पत्राचार गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।समायोजन अवधिमा सरुवा जारी रहँदा काममा अवरोध पुग्ने भएकाले त्यसो गरिएको उनले बताए । संघीय मामिला मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ।तोकिएको अवधिभित्र कर्मचारीको विवरण किताबखानामा अद्यावधिक गर्न गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

उसले समायोजन प्रक्रियामा सहभागी भई संघीयता कार्यान्वयनमा सहयोग गर्न सबै कर्मचारीलाई अपील समेत गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले आफ्नो कार्यालयमा मंसिर २८ भित्र अनिवार्य हाजिर भई सम्बन्धित सेवा सञ्चालन गर्ने निकाय मन्त्रालयमा पठाउन कार्यालय प्रमुखलाई निर्देशन समेत दिइएको छ । सबै गरेर एक लाख ८ हजार कर्मचारी समायोजन हुँदै छन् । त्यसमा निजामती सेवाका करिब ८९ हजार, स्थानीय तहका १७ हजार र अन्य सेवाका २ हजार छन् । मन्त्रालयले समायोजनका लागि अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको छ । समायोजन फारम भर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, ७ वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७ सय ५३ वटै स्थानीय तहमा हेल्प डेस्क राखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया