कांग्रेस महामन्त्रीमा मेखलाल श्रेष्ठले उम्मेदवारी दिने

प्रकाशित मिति:

स्याङ्जा – नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सौहार्द र शान्त वातावरणमा जिल्ला अधिवेशन सम्पन्न भएपछि अब प्रदेश अधिवेशनतर्फ नजर परेको छ। यही मंसिर १६ र १७ गते पोखरामा हुने गण्डकी प्रदेश अधिवेशनमा अन्र्तगत स्याङ्जाका मेखलाल श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले नेपाली कांग्रेस गण्डकी प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने जनाए।

हाल गण्डकी प्रदेश शिक्षा तथा सामाजिक विकासमन्त्री समेत रहेका श्रेष्ठले नेपाली कांग्रेसको प्रदेश संगठनलाई सुदृढ र संगठित बनाउन आफूले उम्मेदवारी दिने घोषणा गरेको जनाए। नेपाली कांग्रेसको संगठनलाई प्रदेशका सबै जिल्लाका भातृसंगठन र शुभेच्छुक संस्थासँग समन्वय गर्दे चलायमान बनाएर मुलुककै उत्कृष्ठ प्रदेश बनाउने लक्ष्य रहेको उनले सुनाए।

वि.स.२०४२ सालमा दहथुम माध्यमिक विद्यालयबाट स्कुले राजनीति सुरु गरेका उनी २०४५ सालमा नेपाल विद्यार्थी संघ वालिङ् क्याम्पसको सभापति हुँदै जिल्लाको उपाध्यक्ष बने। ०४५ सालको राजनीतिक आन्दोलनलगायत विभिन्न आन्दोलनमा सक्रिय सहभागी बनेको उनी पटकपटक पक्राउ परेर जेल जीवन विताएका छन्। तरुण दलको केन्द्रीय सदस्य, सचिवालय सदस्यहुँदै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भइसकेका उनी हाल प्रदेशको मन्त्री हुन्।