सरकारविरुद्ध तानाबाना बुनिँदै छ : रक्षामन्त्री पोखरेल

प्रकाशित मिति:

मङ्सिर २६ रुकुम (पुर्ब) । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारलाई कमजोर बनाउनका लागि तानाबाना बुन्ने काम भइरहेको बताएका छन् । मंगलबार रुकुम पूर्वको रुकुमकोटमा आयोजित प्रथम रुकुमपूर्व पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।

जनताको मत र विश्वास दुवै पाएर बनेको दुईतिहाइको सरकारलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर केही तत्वहरू लागिपरेको उनको भनाइ छ । उनले सरकारविरुद्धको कुनै पनि जालझेल स्वीकार्य नभएको बताए । ‘वर्तमान सरकार जनताको मत र विश्वासका साथ बनेको हो,’ उनले भने, ‘सरकारलाई कमजोर बनाउनका लागि केहीले तानाबाना बुनिरहेका छन्, त्यसलाई सरकारले पूरा हुन दिने छैन, र यो सरकारका लागि सह्य पनि छैन ।’

अर्को वर्ष ५ हजार भत्ता
रक्षामन्त्री पोख्रेलले सरकार सामाजिक सुरक्षाका हिसाबले गम्भीर रहेको बताए । सरकारले जेष्ठ नागरिकहरूलाई प्रत्येक महिना ५ हजार भत्ता दिने तयारी गरेको र आउँदो बजेटमा त्यसलाई समेट्ने उनले बताए । भौगोलिक, सांस्कृतिक, प्राकृतिक, जल, जंगल, जडिबुटी तथा पर्यटनका हिसाबले धनी रहेको र यसलाई जिल्लाको समृद्धिका लागि उपयोग गर्नुपर्ने उनको भनाइ छ ।