कमजोर हुने डरले औषधि छोड्दै एड्स संक्रमित

प्रकाशित मिति:

मङ्सिर २६ डोटी । तेह्र वर्षदेखि एआरटी सेवन गर्दै आएकी डोटीको पूर्वीचौकीकी सुनिताले केही महिनायता औषधि खान छोडेकी छिन् । एड्स निको भएको र औषधि खाँदा कमजोर हुन्छु भन्ने भ्रमका कारण उनले औषधि सेवन गर्न छोडेकी हुन् ।

सुनिताजस्तै यहाँका एचआइभी संक्रमितले केही महिनायता एआरटी सेवन गर्न छोडेका छन् । स्वास्थ्य संस्थाबाट औषधि लगेपछि नखाने गरेको संक्रमितकै क्षेत्रमा काम गरिरहेकी कमला मल्लले बताइन् । ‘स्वास्थ्य संस्थाबाट लगेर घरमा थन्क्याउने गरेको पाइएको छ । एउटाको घरमा २४ महिनासम्म नखाएको औषधि भेटियो,’ मल्ले भनिन् । औषधि सेवन नगरेकै कारण त्यो संक्रमितको मृत्यु भएको पाइएको उनको भनाइ छ ।

उनी पनि संक्रमित हुन् । उनले १४ वर्ष अघि एचआइभी संक्रमित भएको थाहा पाएकी थिइन् । त्यसयता नियमित एआरटी सेवन गर्दै आएकी मल्लले भनिन्, ‘केही संक्रमितको औषधि सेवन गर्दा गर्दै पनि मृत्यु भएकाले अरूलाई पनि औषधि खाएर केही फरक पर्दैन, बरु कमजोर होइन्छ भन्ने भ्रम फैलिएको छ ।’ जसले गर्दा औषधि सेवन गरिरहेका संक्रमितले पनि छोडिरहेको पाइएको उनले बताइन् ।

केही महिनायता औषधि नखाने समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा. गिरीष अवस्थीले बताए । ‘लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने भ्रम फैलिएको पाइयो,’ डा. अवस्थीले भने । केहीले औषधि खान झन्झट मान्ने गरेका कारण पनि समस्या आएको उनको भनाइ छ ।

साइड इफेक्टको डर
एआरटी सेवन गर्दा केही संक्रमितमा ‘साइड इफेक्ट’ देखिने गरेको छ । यो औषधि सेवन गर्दा पौष्टिक आहार पनि खानुपर्छ । तर, कतिपयलाई पेटभरी दुई छाक खान पनि समस्या छ । एआरटीको महत्वका विषयमा जानकारी नहुँदा पनि समस्या भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेडेन्ट डा. भूषण मिश्रले बताए । ‘नियमित एआरटी सेवन गर्दा साइड इफेक्ट हुन्छ भन्ने बुझाइ रहेको पाइएको छ, जसले गर्दा बीचमै छोड्ने गरेका छन्,’ डा. मिश्रले भने ।

सुदूरमा ६ हजारभन्दा बढी संक्रमित
सुदूरपश्चिममा ६ हजार सात सय २४ संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमध्ये तीन हजार ७६ संक्रमितले एआरटी सेवन गरिरहेको निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।