राप्रपाको जात्राः महाधिवेशन सकिन लाग्यो प्रतिनिधिको टुङ्गो छैन

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि राजधानीमा जारी छ । यो एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । तीन अध्यक्षबाट एक अध्यक्ष चयन हुँदैछन् । आज दोस्रो दिनको अधिवेशन चलिरहेको छ । भोलि उम्मेदवारीसहित मतदान भएर भोलि नै महाधिवेशन सकिँदैछ । तर महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन ।

 

काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो नलागेको हो । महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधिहरू छलफलमा छन् ।’

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् ।तर कमल थापा पक्षले भने आफूहरुलाई जबराको साथ रहेको दाबी गर्दै आएको छ । जबराका समर्थकहरु थापाको प्यानलबाट चुनाव लड्दै छन् ।राप्रपाले महाधिवेशनमा ४५ सय प्रतिनिधि हुने जनाएको थियो । तर अहिलेसम्म कति छन् त भन्ने यकीन नै भएको छैन ।