राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख, उपाध्यक्षको ७५ हजार

प्रकाशित मिति:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ तोकिएको छ । राप्रपाको एकता महाधिवेशनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ताका लागि एक लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको हो ।

त्यस्तै, केन्द्रीय उपाध्यक्षका लागि उम्मेदवारी शुल्क ७५ हजार तोकिएको छ । दरखास्त दिँदा जम्मा गरिएको उम्मेदवारी शुल्क भने फिर्ता नहुने राप्रपा निर्वाचन समितिले जनाएको छ ।उम्मेदवारी दर्ता गरिसकेपछि यदि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरे पनि दरखास्त शुल्क भने फिर्ता नहुने समितिले प्रष्ट पारेको हो ।

राप्रपाको केन्द्रीय महामन्त्री उम्मेद्वारीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।राप्रपाको एकतापछि भइरहेको पहिलो महाधिवेशनमा अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन अध्यक्षका उम्मेदवार बनेका छन् ।