रुपन्देहीमा भोलिदेखि जिल्ला लिग फुटबल हुने

प्रकाशित मिति:

१६ मंसिर, बुटवल । कोरोना महामारीका कारण स्थगित रुपन्देही जिल्लास्तरीय लिग फुटबल भोलिदेखि सञ्चालन हुने भएको छ । गत वर्ष वैखाख ७ गतेदेखि भएको खेलबाट छनोट भएका १० टीमबीच प्रतियोगिता सञ्चालन हुन लागेको हो ।रुपन्देही जिल्ला फुटबल संघले बिहीबार पत्रकार सम्मेलन गरी लिगका दोस्रो चरणका खेलहरु भोलिदेखि पुस १० गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीमा शुक्रबार दिउँसो २ बजे हुने उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक मुकेश कुँवरले जानकारी दिए । प्रतियोगिता अन्तर्गत प्रत्येक टिमले ९ वटा गरी कुल ४५ वटा खेल हुने कुँवरले बताए ।

प्रतियोगिताको विजेता टिमले १ लाख, उपविजेता टिमले ५० हजार, तेस्रो हुनेले ३० हजार तथा चौथो हुनेले २० हजार रुपैयाँ पाउने संघका सचिव शंकर मल्लाहले जानकारी दिए । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुने ५ खेलाडीले ५ हजार रुर्पयाँका दरले पुरस्कार पाउनेछन् ।प्रत्येक खेका म्यान अफ दि म्याचलाई समेत आकर्षक उपहारको व्यवस्था गरिएको कुँवरले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख खर्च अनुमान गरिएको लिग सञ्चालनका लागि एन्फाले ५ लाख रुपैयाँ उपलब्ध गराएको लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुनले जानकारी गराए ।

प्रतियोगितामा क्लबहरुले ए, बी वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागी गराउन पाउने छैनन् भने विभागीय टिमका खेलाडी पनि खेल्न नपाउने संघले जनाएको छ ।प्रतियोगितामा जिल्लाका झरना स्पोर्टस्, सुनौलो संगम, चाँदनी युवा क्लब, बुटवल युनाइटेड, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब, गोर्खा ब्वाइज युवा क्लब, भूपू सैनिक स्पोर्टस् क्लब, सौभाग्य युवा क्लब र डीएमसीबीच प्रतिस्पर्धा हुने छ ।