बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ !

प्रकाशित मिति:

२६ मंसिर, काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामूहक बलात्कार घटनाका दुई अभियुक्त पक्राउ परेका छन् । यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले घटनाका अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षका विशालध्वज कार्की र २१ वर्षकै पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो । यसअघि गत वर्ष पुस २६ गते उनीहरुलाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनले गत वर्षकै पुस २५ गते उनीहरुलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् ।

के थियो घटना ?

‘गोदामचौर–क’ लाई २ मंसिर २०७४ मा माइतीबाट फर्किरहेका बेला अभियुक्तहरूले सामूहिक बलात्कार गरेको  थिए । ३ मंसिरमा तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो । पीडितको हात र टाउकोमा गरी ३० भन्दा बढी टाँका लगाइएको छ । ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए । ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानूनी व्यवस्था छ ।