व्यवसायमैत्री नीति बने लगानीको खोलो बग्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

प्रकाशित मिति:

बुटवल, २० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको नीति राम्रो बनाउन सक्ने हो भने लगानीको खोलो लाग्ने बताउनु भएको छ । विकसित भएका मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अगाडि बढेको पनि उहाँले बताउनु भयो ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्वोधन गर्दै उहाँले बुटवलको बमघाट–बसन्तपुर केवलकार निर्माण सम्पन्न भएपछि बुटवलसंगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गर्नुभयो । अहिले बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको तरलता अभावले समस्या उत्पन्न भएको उहाँको भनाई छ ।

नीजि क्षेत्र लक्षित नीति बनाउंदा नीजि क्षत्रको सुझाव सल्लाह लिएर गर्ने हो भने त्यसमा नीजि क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने उहाँको भनाई छ ।कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा संघले खेलेको भूमिकाको चर्चा गर्नुभयो । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउंदै उहाले संघ प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री भईदिन आग्रह गर्नुभयो । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीको लागि संघले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसकेपनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।त्यस अवसरमा बोल्दै बुटवलका मेयर शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बनाएको दावी गर्नुभयो । निजी क्षत्रसंगको सहकार्यबिना बिकास सम्भव नभएको बताउंदै उहाँले बुटवलले निजी क्षत्रलाई अगाडि लगाएर बिकासका पाईला चालेको दावी गर्नुभयो । त्यसअगाडि नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बुटवलका मेयर नेपालभरीमै काम नगर्ने मेयरको रुपमा पहिचान बनाएको आरोप लगाउनु भएको थियो । त्यसको जवाफमा सुवेदीले बुटवल नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित भएको बताउनु भयो ।नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सिमानाका कडाई गर्न महासंघ र व्यक्तिगत रुपमा आफूपनि लागि परेको बताउँदै बोडरलाई ईकोनोमिकल्ली शिल गर्न लागि परेको जानकारी गराउनु भयो । त्यसले व्यबसायीलाई पनि राहत पु¥याउने र मुलुकको राजश्वमा पनि सकारात्मक योगदान पुग्ने बताउनु भयो ।

त्यस्तै महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा भएका समस्या समाधानमा गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्य नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

तीनजना चिकित्सकलाई सम्मान

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा संघले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो । संघको ६८ औं साधारण सभामा आयोजित कार्यक्रममा उहाहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कदरपत्र प्रदान गर्नुभएको हो । कारोना महामारीको समयमा सर्वसाधारणलाई स्वास्थ्य परामर्शको लागि निःशुल्क मोवाईल हेल्पडेस्क सञ्चालन गरेको थियो । उक्त हेल्पडेस्कमा बसेर तीनजा डाक्टरहरुले स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो ।त्यस्तै संघका गतिविधि र व्यवसायिक कृयाकलापमा उत्कृष्ट काम गरेवापत कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिलाई सम्मान गरिएको छ ।

संघको अध्यक्ष हुन बिभिन्न पदमा कम्तिमा १२ वर्ष काम गरेको हुनुपर्ने

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्ष हुन अब कम्तिमा १२ वर्ष विभिन्न पदमा रहेर काम गरेको हुनु पर्नेछ । संघको अध्यक्षको उम्मेद्वार हुन एक कार्यकाल पदाधिकारी, त्यस अगाडि २ कार्यकाल कार्यसमिति सदस्य हुनु पर्नेछ ।कार्यसमिति सदस्य हुनको लागि पनि कम्तिमा तीन वर्ष लगातार संघको सदस्यता नविकरण गरेको हुनुपर्ने गरि संघको विधान संशोधन गरिएको छ । त्यस्तै सहकोषाध्यक्ष र सम्वद्धबाट एक सदस्य गरि दुई पद थप गरिएको छ । त्यसैगरी सेवा क्षेत्रबाट एक सदस्य पदमा मनोनित गर्ने व्यवस्था थप गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८ औं वार्षिक साधारण सभाले विधान संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो । संघको विधान संशोधन समितिका संयोजक, सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले विधानमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै गैरनाफामुलक संस्थाको विद्यमान ऐन, नियम कानुनको परिधिमा रहेर विधान संशोधन प्रस्ताव गरिएको बताउनु भयो । उहाँले संस्थालाई अझै बलियो बनाउन र अध्यक्षको कार्यकुशलता ससक्त बनाउन यस्तो व्यबस्था गरिएको जानकारी गराउनु भयो । संशोधित विधान स्वीकृतिमा आवश्यक थप निर्णय लिन साधारण सभाले कार्यसमितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै सल्लाहकार सभालाई परिषद बैठक बनाईएको छ । साधारण सभाबाट पारित उक्त संशोधित विधान जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिएपछि मात्रै कार्यान्वयन हुने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।त्यस्तैगरी प्रस्ताव समितिका संयोजक, कार्यसमिति सदस्य प्रतीक पोखरेलले प्रस्तुत गर्नुभएको ९५ बुदे प्रस्ताव पनि पारित भएको छ । साधारण सभामा महासचिव बिमलराज भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नवीन श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित भएको छ ।