विवाहपञ्चमीमा सहभागी भएर फर्किए योगी, भने – जनकपुरधाम ज्ञान केन्द्र हो

प्रकाशित मिति:

मंसिर २६,  जनकपुरधाम – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले माता सीताको जन्मभूमि जनकपुरधाम केन्द्र केन्द्र भएको बताएका छन् ।

विवाहपञ्चमीको अवसरमा सहभागी हुन जनकपुर पुगेका मुख्यमन्त्री योगीले रंगभूमि मैदान बारहविघामा आयोजित स्वयम्बर कार्यक्रममा बोल्दै जनकपुरको प्रशंसा गरे ।

प्राचीनकालदेखि रहेको मिथिला–अयोध्या सम्बन्धले नेपाल–भारतलाई एकसूत्रमा बाँध्ने काम गरेको मुख्यमन्त्री योगीले बताए । ‘जनकपुर–अयोध्या जोड्ने गरी ४ लेनको राजमार्ग बनाउँदैछौं, अयोध्या ४ घण्टा र लखनउ ६ घण्टामा पुगिने छ,’ उनले भने ।

सीताराम विवाहमा जन्ती बनेर आएका मुख्यमन्त्रीले योगीले बिहान जानकी मन्दिरमा पूजाआजा गरेका थिए । योगी दिउँसो प्रदेश सरकारले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए भने त्यसपछि रंगभूमि मैदानमा आयोजित स्वयम्बर कार्यक्रममा सहभागी भएका थिए ।

सीताराम विवाह महामहोत्सवमा आएका मुख्यमन्त्री योगीलाई २ नम्बर प्रदेश सरकारले सम्मान समेत गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल वली, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो । योगी बुधवारै साँझ ५ बजे फर्किएका छन् ।