सत्तारुढ भाजपालाई गम्भीर धक्का : तीन राज्यमा कांग्रेस सरकार पक्का !

प्रकाशित मिति:

नयाँ दिल्ली, २७ मंसिर । भारतमा भइरहेको विधानसभा निर्वाचनको मत परिणाम आश्चर्यजनक देखिएको छ । अहिलेसम्म पाँच वटा राज्यमध्ये तीनवटा राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई पछाडि पार्दै कंग्रेसले सरकार बनाउने पक्कापक्की भएको छ।

छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा कंग्रेस नेतृत्वमा सरकार गठन हुने भएपछि भाजपा विपक्षमा पुगेको छ । यसअघि यी राज्यमा भाजपाले सत्ता सम्हाल्दै आएको थियो ।

निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समूह प्रचार प्रसारमा खटिएको थियो । कंग्रेसका तर्फबाट अध्यक्ष राहुल गान्धी प्रचारप्रसारमा खटिएका थिए ।

सन् २०१९ को लोकसभा चुनावको सेमिफाइनलको रूपमा हेरिएको निर्वाचन परिणामले भाजपालाई नराम्रो धक्का दिएको छ।

दुई सय ३० सिट रहेको मध्यप्रदेशमा कंग्रेसले एक् सय १४ सिटमा जित हासिल गरेको छ । बहुमतको सरकार बनाउन एक११६ सिट आवश्यक रहेकोमा कंग्रेसलाई दुई सिट मात्रै अपुुग छ । कंग्रेसलाई आवश्यक दुई सिटमा बहुजन समाजवादी पार्टीले समर्थन गर्ने बताइसकेको छ । एक सय नौ सिट जितेर भाजपाले मुख्य विपक्षी दलमा चित्त बुझाउनुपर्ने भएको छ ।

९० सिट रहेको छत्तीसगढमा कंग्रेसको भारी बहुमत छ । सरकार बनाउन ४६ सिट आवश्यक पर्नेमा कंग्रेसले ६८ सिट जितेको छ । सन् २०१३ को निर्वाचनमा ४९ सिट जितेर सरकार बनाएको भाजपा अहिले १५ सिटमा खुम्चिएको छ।

राजस्थानमा पनि कंग्रेसलाई सरकार बनाउन थप एक सिट आवश्यकता पर्छ । दुई सय सिट रहेको राजस्थानमा कंग्रेसले १०० सिटमा जित हात पारेको छ भने भाजपा विगतको भन्दा ९० सिट गुमाउँदै ७३ सिटमा सीमित भएको छ । कंग्रेसलाई सरकार बनाउन बहुजन समाजबादी पार्टीकी मायावतीले समर्थन गर्ने बताइसकेकी छन् । राजस्थानमा कंग्रेसको सरकार गठन हुने पक्का भएको छ।

तेलंगनामा भने भाजपा र कंग्रेसलाई घाटा लागेको छ । यहाँ फेरि एकपटक टिआरएसले नै सरकार बनाउने भएको छ।

तेलंगना राष्ट्रिय समिति टिआरएसले यसअघिको निर्वाचनका भन्दा २५ सिट बढी जितेको छ । अहिले ८८ सिट जितेको टिआरएसलाई बहुमतका लागि जम्मा ६० सिट आवश्यक पर्छ ।

तेलंगनामा कंग्रेसले १६ सिट गुमाउँदै २१ सिटमा जित हात पार्दा भाजपाले चार सिट गुमाउँदै एक सिटमा मात्र जित हात पारेको छ ।

४० सिट रहेको मिजोरममा मिजो नेसनल फ्रन्ट (एमएनएफ)ले २६ सिट जित्दै सरकार बनाउने भएको छ । यसअघिको निर्वाचनमा जम्मा पाँच सिट जितेको एमएनएफले यसपटक कंग्रेसलाई पछि पार्दै सत्तामा पुगेको हो। कंग्रेसले पाँच सिट जित्दा भाजपाले पहिलोपटक एक सिट जितेको छ।