ट्रम्पको भक्त हुनु मेरो कमजोरी होः कोहेन

प्रकाशित मिति:

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई अदालतले ३६ महिनाको जेल सजाय सुनाइएपछि उनले आफ्ना पूर्व हाकिमका खराब कार्यहरूको आलोचना गरेका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा आरोपित रुसी हस्तक्षेपबारे जारी अनुसन्धानका क्रममा जेल पुग्ने कोहेन राष्ट्रपति ट्रम्पको भित्री समूहका पहिलो सदस्य हुन् । उनले कंग्रेसलाई झूट बोलेको, चुनावी अभियानमा आर्थिक हिनामिना गरेको र करछली गरेको आरोपहरू स्विकारेका छन् । न्यूयोर्कको अदालतमा ५२ वर्षीय कोहेनले आफ्ना सम्पूर्ण अपराधहरूका लागि राष्ट्रपती ट्रम्प जिम्मेवार भएको आरोप लगाएका छन् । अपमानित महसुस गर्दै कोहेनले बुधवार न्यायाधीश विलियम पाउलेलाई ट्रम्पले उनलाई उज्यालोतर्फ नभई अँध्यारोतर्फको बाटोमा धेकेलेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रतिको भक्ति आफ्नो कमजोरी रहेको र उनका हरेक गलत क्रियाकलापको ढाकछोप गर्नु आफ्नो कर्तव्य सम्झेको कोहेनले अदालतमा बताएका छन् । कोहेनलाई मार्च ६ तारिख सम्ममा न्यूयोर्कको ओटिस्भिल कारागारमा उपस्थित हुन भनिएको छ । जेल सजायसँगै उनलाई २० लाख डलर बराबरको आर्थिक जरिवाना तिर्न अदालतले आदेश दिएको छ ।