प्रचण्डले भन्छन, म संविधान संशोधन गर्न तयार छु !

प्रकाशित मिति:

सबलपोस्ट /काठमाडौं, २७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर भए पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

बिहीबार थारु भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दे अध्यक्ष प्रचण्डले उत्पीडित वर्गले चाहे अनुरुपको अधिकार नपाएको भन्दै संविधान संशोधनका माध्यमबाट त्यसलाई पूरा गर्न आफू तयार रहेको बताएका हुन् ।

‘हाम्रो आन्दोलन र हाम्रो उद्देश्य अझै पूरा भएको छैन्’, उनले भने, ‘उत्पीडित जनताले चाहेको र कल्पना गरेको समाजको अझै निर्माण हुन सकेको छैन् ।’ अध्यक्ष प्रचण्डले आफूहरु अझै पनि आन्दोलनकै चरणमा रहेको र आन्दोलनको स्वरुप परिवर्तन गरेको दावी गरेका छन् ।

उनले शान्तिपूर्ण आन्दोलनबाटै पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउन सकिने दावी गरे । आफूहरुले केही बुँदामा फरक मतसहित संविधानलाई स्वीकार गरेको भन्दै उनले संविधान संशोधन गरेर भए पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाएरै छाड्ने प्रतिवद्धता समेत वयक्त गरे ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि उत्पीडित वर्गले धेरै रगत बगाएको भन्दै उनले सहिदको रगतलाई खेर जान नदिने प्रतिवद्धता समेत जनाए ।

समूहगत हिसाबले नेपालको परिवर्तनमा थारु समूदायको योगदान प्रमुख रहेको उनले बताए। ‘थारु सबैभन्दा सोझो, इमान्दार र असाध्यै मेहेनती समुदायमा पर्छ’, उनले भने, ‘नेपालको इतिहासमा एउटा छुट्टै सांस्कृतिक पहिचान र सभ्यताको प्रतीक पनि हो थारु समुदाय ।’