लामो समयपछि प्रदेश नं २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान गरिएको छ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन बुधबार बिहान ११ बजेको लागि आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौँमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । प्रदेशसभाको आठौँ अधिवेशनबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ ।