२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा : शेखर कोइराला दोस्रो चरणमा पराजित भएका छन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् ।
तर दोस्रो चरणमा पनि शेखरले आफ्नो मत भने बढाएका छन् । पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाए । अर्थात कोइरालाले ३६।३८ प्रतिशत मत पाए । दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका कारण कोइरालाको हार निश्चित जस्तै थियो । तर उनले प्रतिस्पर्धा रोजे । दोस्रो चरणको मतदानमा ४ हजार ५६२ मत खस्यो । २७२४ मत पाएर देउवा सभापति निर्वाचित भए भने कोइरालाले १८१७ मत पाए । अर्थात उनले ३९।८२ अर्थात करिव ४० प्रतिशत मत पाएका छन् ।