कांग्रेस आफ्नै कार्यकर्तालाई दुस्मन देख्छ : पूर्वराष्ट्रपति डा. रामवरण यादव

प्रकाशित मिति:

मंसिर २७ , काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस आफ्नै कार्यकर्तालाई दुस्मन देख्ने पार्टी भएको बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै यादवले कांग्रेस बिग्रेको भन्दै नेताहरुलाई सुध्रिन सुझाव दिए । ‘म अहिले कांग्रेस कार्यकर्ता हैन, तर कांग्रेसले आफ्नै कार्यकर्तालाई दुस्मन देख्छ,’ उनले भने ।

बिपी, किसुन, गणेशमानसँग वर्तमान नेताहरुलाई तुलना गर्दै उनले त्यस समयको ऊर्जा कांग्रेसमा हराएको बताए। ५० प्रतिशत जनसंख्या ओगटेको तराईलाई कांग्रेसले उपेक्षा गरेको आरोप लगाउँदै उनले कांग्रेसको प्रमुख आधार तराईमा नै नेताहरुले समय नै नदिएको भन्दै गुनासो गरे।

संविधान हतार र गडबडीमा ल्याइयो
पूर्वराष्ट्रपति यादवले संविधान हतार र गडबडसहित आएको पनि बताएका छन्। संविधान अझ राम्रै होस् भनी संविधानसभाको कार्यकाल बढाइए पनि हतारमा संविधान आएको उनले बताए। संविधानमा केही विषय संशोधन गर्नुपर्ने जनाए। उनले भने, ‘संविधान धेरै राम्रो बनेको छ तर केही संशोधन पनि गर्नुपर्नेछ।’

देशमा धर्मान्तर बढ्यो
नेपालमा धर्मान्तरमा वृद्धि आएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे। दलका नेताहरुलाई धर्मान्तरणको क्रम रोक्न छिटोभन्दा छिटो संविधान संसोधन गर्न उनले सुझाव दिएका छन्।

मदन भण्डारी राजमार्गले चुरे नास्छ
बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल र कैलालीको गोदावरीमा स्थानान्तरण गर्न लागिएको राजधानीले तराईको सुक्खा अझै बढ्ने भन्दै उनले चिन्ता व्यक्त गरे। सरकारले योजनामा ल्याएको मदन भण्डारी राजमार्गले समेत चुरेको विनाश हुने खतरा उनले औंल्याए।

जनता प्रकाशनद्वारा बजारमा ल्याइएको पौडेलको पुस्तकमाथि कांग्रेस नेताहरु डा. रामशरण महत, प्रदीप गिरिले बहस गरेका थिए। साथै, प्राध्यापक लोकराज बराल, पत्रकार धमेन्द्र झा र नेकपा नेता विजय पौडेलले आफ्नो धारणा राखेका थिए।