नेकपा सरकारको मनपरितन्त्र विरुद्ध प्रतिवाद गर्नु कांग्रेसको एकमात्र उदेश्य : नेता आचार्य

प्रकाशित मिति:

मोरङ २७ मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री महेश आचार्यले पार्टी भित्र अनुशासनहिनताले पराकाष्ठा नाघेको बताउनु भएको छ । पार्टी विचार र सिद्धान्तको राजनीतिबाट विमुख बन्दै गइरहेको प्रति चिन्ता ब्यक्त गर्दै आचार्यले पार्टीलाई अनुशासनको कसिलो बन्धनभित्र बाध्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउनु भयो । उहाँले कांग्रेस पुनर्निर्माणको पहिलो शर्त पनि यही नै हुनुपर्ने बताउनुभयो ।

अब अनुशासन तोड्ने कुनै पनि नेता कार्यकर्तालाई छुट दिनुहुन्न।अनुशासनको डण्डालाई पार्टीले कांग्रेस पुनर्निर्माणको जग बसाल्ने, थिति स्थापित गर्ने एक बलियो आधार बनाउन अपरिहार्य छ आचार्यले भन्नुभयो – नत्र पार्टी अनुशासनहिनहरुको खेल मैदान बन्नेछ ।त्यसो भएमा सबैखाले निरंकुशताको विरुद्ध लड्दै यो मुकामसम्म गर्विलो यात्रा तय गरेको ऐतिहासिक पार्टी अस्तित्व संकटको जोखिममा पर्ने सम्भावनालाई नकार्न सकिन्न। नेता आचार्यले अनुशासनको धज्जी उडाउने, पार्टीको शिर झुकाउने कार्यमा संलग्न त्यस्ता खराब प्रवृत्ति र पात्रलाई कांग्रेसले राखिरहन जरुरी नभएको बताउँदै भन्नुभयो – तर अचम्मलाग्दो कुरो पार्टीमा अनुशासनहीनहरु नै बलियो बन्दै जाने अनि एकथरी नेताहरू तिनै उद्दण्ड र नैतिकहीनहरुलाई काखी च्याप्दै हिड्ने प्रवृत्ति झन खतरनाक छ। आचार्यले आफू अन्तर्घातको शिकार भएको प्रसङ्ग उल्लेख गर्दै शिकारी को को हुन भन्ने तथ्य झन विस्तृतरुपमा उजागर हुँदै गएकोतर्फ औल्याउनुभयो । उहाँको भनाइ थियो –चुनाव पराजयको एक बर्ष बितिसकेको छैन।तपाईंहरुले यहाँ अनेकखाले नाटकहरु मंचन भइरहेको देखिरहनु भएको छ।मैले औंला तेर्साएर संकेत गरिरहनै पर्दैन ।यो त तपाईंहरु आफैं प्रत्यक्षदर्शी हुनुहुन्छ ।

उहाँले अगाडि भन्नुभयो– महेश आचार्य अनुशासनहिनताको विरुद्ध लड्न मैदानमा उत्रिएको छ। यो लडाइँ अब महेश आचार्यले गाउँ , क्षेत्र , जिल्ला ,प्रदेश हुँदै केन्द्र सम्म एउटा महाअभियानको रूपमा लिएर अघि बढ्ने प्रतिज्ञा आज तपाईंहरुको माझमा गर्छ। निकै कडासँग प्रस्तुत हुनुभएका वरिष्ठ नेता आचार्यले ‘अनुशासनहिनहरुको झुण्डसङ्ग नाजायज पिरती गासेर पार्टी कब्जा गर्ने, क्षेत्र कब्जा गर्ने अनि मनमोजी गर्ने दिवास्वप्न देखिरहेका त्यस्ता जो कोही छन भने उनीहरुलाई निद्राबाट ब्युझन सुझाव समेत दिनुभयो । पार्टीमा धनवाद र डनवाद हावी हुँदै गएको तर्फ चिन्ता व्यक्त गर्दै ’अब महेश आचार्यलाई केही लिनु छैन र दिनु छैन।जय पराजय पनि महेश आचार्यको लागि अब उति महत्वको कुरो रहेन।तर पार्टीको पुनर्निर्माण अनि पुनर्जागरणको लागि महेश आचार्यले कुन हदसम्मको समर्पण गर्नुपर्ने हो? कुन तहसम्म लड्नुपर्ने हो? पार्टीको वैचारिक धार अनि मूल्य मान्यतालाई पुनस्र्थापित गर्न कस्तो युद्ध छेड्नुपर्ने हो? त्यो महाअभियानमा आफ्नो पाइला अगाडि बढाउने प्रण गरेर सबैको माझमा उभिएको’ उहाँको भनाइ थियो।

अब यसले तिव्र गतिमा निरन्तरता पाउनेसमेत बताउनुभयो। कटहरी गाउँपालिका वडा न. ५ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता एवम् पूर्व अर्थमन्त्री आचार्यले नेकपाको दुई तिहाइको सरकार असफल बनिसकेको बताउँदै निरंकुशतातर्फ जबर्जस्त अघि बढ्ने कुचेष्टा गरिरहेको बताउनुभयो। “प्रधानमन्त्री ओलीमा असीमित शक्ति संचय गर्ने महत्वाकांक्षा देखिएको छ । जनताको आकांक्षा र आवश्यकताको कुनै माने छैन तर असीमित शक्तिको आडमा राज्यको स्रोत साधनको दोहन गर्ने मनोवृत्ति नेकपा सरकारमा फष्टाएको छ । यो लोकतन्त्रको लागि , राष्ट्रको लागि घातक छ। महासमितिको भेलापछि पार्टीलाई नयाँ उर्जा सहित अघि बढाउनुपर्ने अबको अपरिहार्यता भएको धारणा राख्दै पार्टी भित्र बलियो अनुशासन स्थापित गरेर लैजाने अनि त्यसैको जगमा टेकेर नेकपाको सरकारको मनपरितन्त्र विरुद्ध सशक्तरुपले प्रतिवाद गर्नु कांग्रेसको एकमात्र आफ्नो कार्यभार रहेको उहाँको कथन थियोे ।