लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको कामकाज देउखुरीबाट सुरु

प्रकाशित मिति:

दाङ– लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बुटवलमा सम्पर्क कार्यालय राखेर मन्त्रालयको सबै कामकाज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट सुरु गरेको छ।राप्ती गाउँपालिका वडा नं। ५ सिसहनियाँस्थित वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी भवन मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। सोही भवनबाट मन्त्रालयको कामकाज सुरु गरिएको छ। वडा कार्यालय अर्को भवनमा सारिएको छ।

मन्त्रालयको उद्घाटन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले गरे। मन्त्री थारुले प्रदेश सरकारको सबै प्रशासनिक कामकाज राजधानी क्षेत्रबाट सुरु गर्नेगरी काम भैरहेको जानकारी दिए।‘यही आर्थिक वर्ष डीपीआर सकेर पूर्वाधार निर्माणका लागि बहुवर्षीय ठेक्का गर्ने योजना छ,’ उनले भने,‘प्रक्रियागत रुपमा अघि बढ्दै राजधानीको कार्यान्वयनलाई गति दिन चाहेका छौँ।’यसअघि पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय यस क्षेत्रमा स्थापना भएको थियो। मन्त्रालयको कामकाज अझै बुटवलबाट सञ्चालन भैरहेकाले सो मन्त्रालय सुनसानजस्तै छ। तर, स्वास्थ्य मन्त्रालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीमा स्थापना भएको मन्त्रालयबाटै हुने मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताए।

लुम्बिनी प्रदेश सभाको २०७७ साल असोज २० गते बसेको बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको थियो। स्थायी राजधानी तोकिएको एक वर्षभन्दा बढी समय भैसक्दा पनि पूर्ण कार्यान्वयन अझै बाँकी छ। प्रदेशका अन्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत स्थायी राजधानीमा स्थापना हुन बाँकी छ।