नेपालमा अब १ सयको भारु मात्र चल्ने

प्रकाशित मिति:

काठमाडौं \ सरकारले मुलुकभित्र केही भारतीय नोट प्रचलनमा प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजार दरका नोटहरू प्रचलनमा प्रतिबन्ध लगाउने जनाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजार दरका नोटहरू नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बताउनुभयो । भारु २ सय, ५ सय र २ हजार दरका नोटहरु मुलकभित्र ल्याउन तथा साथमा राख्न गैरकानूनी हुने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको निर्णयद्वारा सरकारले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय नोट बोक्न गैरकानूनी हुने भएकाले चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।’ यसअघि, भारतमा कालोधन नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले १ सय, ५ सय र १ हजार दरका पुराना नोट विस्थापित गर्दै नयाँ नोट प्रचलननमा ल्याएको थियो । नेपालको बैंङिक प्रणालीमा रहेका करीब ७० करोड भारतीय रुपैयाँ साँट्न नसकिरहेका बेला सरकारले नयाँ नोटमा पनि प्रतिबन्ध लगाएको हो । यस्तै, सरकारले साझा सहकारी संस्थाहरुबाट साना किसानले लिएको ऋण मिनाह गर्ने निर्णय समेत गरेको छ ।

प्रहरीलाई केन्द्र र प्रदेश तहमा समायोजन गर्ने सम्बन्धमा बनेको अध्यादेश थप परामर्शका लागि लोक सेवामा पठाउने निर्णय समेत गरिएको सूचना तथा सञ्चारमन्त्री बास्कोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषदको बैठकले नेपाल कपडा उद्योग संघले उठाएका मागबारे रायसुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरिएको छ । यस्तै, बैठकले मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ स्वीकृत गर्ने, खानेपानी सम्बन्धी संघीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, २०६६ कात्तिक २४ गते अज्ञात समूहद्वारा अपहरण गरी हत्या गरिएका सिराहा जिल्लानिबासी प्रमोद साहकी श्रीमती गितादेवी साहलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने र नेपाल र कम्बोडिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।