बौद्धदर्शनका तात्विक आधार र सञ्चार

प्रकाशित मिति:

🖎 डा. बालकृष्ण चापागाईं- बौद्ध दर्शनको शाश्वत आधार भनेको दुःख हो । यसका कारण नै कारक हुन्, दुःखको उन्मुक्तिका उपाय र आधारहरू तत्व मीमांसा हुन् । यसले ज्ञान मीमांसामा पञ्चस्कन्ध, द्वादसायतन र अष्टदस धातुलाई आधार मानेको छ । प्रज्ञा, शील र समाधि अन्तर्गत अष्टांगिक मार्ग मूल्यशास्त्रमा निहित छन् । यी नै निर्वाणका आधार हुन् । बौद्धदर्शनमा निहित तत्वहरूको लोकप्रियता र व्यापकताको निम्ति समसामयिक सञ्चारको महत्वपूर्ण भूमिका रह्यो, जुन आधुनिक कालमा पनि सञ्चारको भूमिका उत्तिकै रहेको छ र भविष्यमा पनि रहिरहने छ ।‘बौद्धदर्शन र सञ्चार’ बारे विभिन्न विद्वान्हरूका कृतिहरूको अध्ययनबाट प्राप्त प्रामाणिक आधार, ज्ञान, शिक्षा एवम् समग्रमा पूर्व साहित्यका रूपमा रहेका सामग्रीहरूको समीक्षा गरिएको छ । बौद्धदर्शन र सञ्चार अलग–अलग विषयवस्तुजस्तो लागे तापनि यी विषयको अन्योन्याश्रित सम्बन्ध रहेको छ । सञ्चार मानवका लागि रक्तसञ्चार जस्तै हो । यसको अभावमा मानवसमाजको परिकल्पना नै गर्न सकिंदैन । समाजमा असल विचार सञ्चारित हुँदा सभ्य समाज निर्माण हुन्छ । जहाँ सभ्य समाज हुन्छ त्यहाँ शान्ति हुन्छ । आजको विश्वमा बौद्धदर्शन मानवकल्याण र शान्तिको पथप्रदर्शकका रूपमा स्थापित छ । यसलाई आमजनमानसमा प्रभावकारी सञ्चार गराउन सक्दा मानिसमा सकारात्मक सोच र चिन्तनको विकास भई विश्वशान्ति स्थापना हुन सक्ने देखिन्छ ।

 

बौद्धदर्शनको विकासमा सञ्चारः

गौतमबुद्धले आफ्नो जीवनकालमै विश्वकल्याणकारी विचारलाई मानव समाजमा सम्प्रेषित गरी सकारात्मक प्रभाव दिन सफल भएका थिए । महापरिनिर्वाण पछि उनका जीवीत शिष्य एवम् अनुयायीहरूले बुद्धका विचारलाई मानव समाजमा पु¥याउने कोशिस गरे । फलस्वरूप बुद्धका विचारको प्रभाव समाजमा बढ्दै गयो । बौद्ध धर्म दर्शनको विकास एवम् विस्तार तीब्रगतिमा अगाडि बढिरहेको अवस्थामा सन् ११९३ मा अली वख्तियार मोहम्मद खिलजीको नेतृत्वमा मुस्लिमहरूबाट बौद्धमार्गीहरूमाथि निकै ठूलो आक्रमण भयो । बौद्ध धर्मदर्शन एवम् बौद्धमार्गीहरूमाथि ठूलो संकट आयो । त्यसपछि ६ सय वर्ष भन्दा बढी नेपाल भारतमा बौद्ध धर्म दर्शनको अवस्था विलुप्त जस्तै रहयो ।सन् १८०० यता मात्र नेपाल भारतमा बौद्ध धर्म दर्शनको सञ्चारमा तीब्रता आएको पाइन्छ । बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म विश्वकल्याणकारी उपदेश जीवनपर्यन्त दिइरहे । उनको महापरिनिर्वाण पछि उनका विचारलाई संरक्षण र संवद्र्धन गर्ने काम उनका शिष्य र अनुयायीहरूबाट सुरु गरियोे । बुद्धका विचारलाई संरक्षित एवम् व्यवस्थित गर्ने क्रममा विभिन्न संगायनहरू गरिए । गौतम बुद्ध महापरिनिर्वाण भएको पहिलो वर्षमै सम्पन्न प्रथम सङ्गायन देखि छैठौँ संगायन (सन् १९५६) सम्म आइपुग्दा बौैद्ध धर्मदर्शनको विकास एवम् विश्वमा यसको प्रभाव विस्तार भएको पाइन्छ । यसको विकास र विस्तारमा मानवीय सञ्चारका तत्व एवम् प्राचीनकालदेखि चलिआएका सञ्चारका विभिन्न तरिका एवम् साधन र आधुनिक सञ्चार माध्यमका रूपमा विकसित छापा, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट (अनलाइन) जस्ता नयाँ सूचना प्रविधि एवम् न्यू मिडियाको प्रयोगले विश्वमा बौद्ध धर्म दर्शनको प्रचारप्रसारमा तीब्रता आएको पाइन्छ ।

बौद्ध दर्शन मानवकल्याण र शान्तिका लागि अपरिहार्य तत्वको रूपमा रहेको छ । यसलाई मानव समाजमा पु¥याउन सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ । बौद्धदर्शनबाट प्रभावित भई अनुयायी बनेका बुद्धकालीन सम्राटहरू र बुद्धको महापरिनिर्वाण पछि सम्राट अशोक आदिका माध्यमबाट बौद्ध धर्मदर्शनको विकासमा योगदान पुगेको पाइन्छ । विशेषगरी बौद्ध संगायन, बौद्ध शैक्षिक प्रतिष्ठानहरू धर्म र संघहरूमार्फत् बौद्ध दर्शनको प्रभावकारी सञ्चार हुन गई यसको विकास भएको पाइन्छ ।गौतमबुद्धको जीवनकालसम्म आइपुग्दा दार्शनिक चेतनाको विकास विभिन्न ढङ्गले भएको पाइन्छ । उनको परिनिर्वाणपछि उनले प्रतिपादन गरेका चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गले बौद्धदर्शनको महत्वपूर्ण आधार बनाएको पाइन्छ । चार आर्य सत्य मध्येको क– दुःख सत्यका बारेमा गौतमबुद्धले आफ्ना शिष्य भिक्षुहरूलाई भनेका छन्–‘दुःख प्रथम आर्य सत्य हो । जन्म दुःख हो । वृद्धावस्था र मरण पनि दुःख हो । शोक, वेदना, उदासीनता तथा अपायास–हैरान हुनु पनि दुःख हो । अप्रियसँगको साक्षात्कार, प्रियसँगको वियोग पनि दुःख हो । साथै राग, द्वेषद्वारा उत्पन्न पञ्चस्कन्ध अर्थात् रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान पनि दुःख नै हुन् । संसारका प्रत्येक घटनामा दुःखसत्ता अवस्थित छ ।’ त्यस्तै बुद्धले दोस्रो आर्यसत्यमा दुःखको कारण हुन्छ, तेस्रोमा त्यो दुःखको निराकरण हुनसक्छ र चौथोमा दुःख निराकरणका उपायहरू छन् र ती उपाय भनेका आर्य–अष्टाङ्गिक मार्ग–सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि हुन् ।

उल्लिखित अष्टाङ्गिक मार्गलाई गौतमबुद्धले प्रज्ञा, शील र समाधि गरी तीन भागमा विभाजन गरेका छन् । प्रज्ञा अन्तर्गत–सम्यक् दृष्टि र सम्यक् सङ्कल्प पर्दछन् । त्यस्तै शील अन्तर्गत–सम्यक् वचन, सम्यक् कर्मान्त र सम्यक् आजीविका पर्दछन् । त्यस्तैगरी समाधि अन्तर्गत–सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछन् । बौद्ध धर्मदर्शनमा आचार–मीमांसाको चरम साधना नै अष्टांगिक मार्गको अनुसरणलाई महत्वपूर्ण आधारका रूपमा लिएको पाइन्छ । मानव समाजको विकास क्रममा आएको महत्वपूर्ण र वैज्ञानिक दर्शनका रूपमा बौद्ध धर्म दर्शनलाई लिइने गरिन्छ । यो धर्म दर्शनले त्यस अघिका सबै प्रकारका दार्शनिक चिन्तनहरूका वैज्ञानिक र सान्दर्भिक कुराहरूलाई स्वीकार गरेको छ भने अवैज्ञानिक, अन्धविश्वासी र असान्दर्भिक कुराहरूलाई खण्डन गरेको छ ।गौतम बुद्धको विचारमा कसैप्रति निषेध गरेर होइन, उसका सकारात्मक कुराहरूलाई स्वीकार गर्दै नकारात्मक कुराहरूलाई हटाउँदै असल कर्मलाई पछ्याउँदै मध्यम मार्गबाट अगाडि बढ्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिकोण रहेको पाइन्छ । गौतम बुद्धको निर्वाणपछि उनीद्वारा प्रतिपादित धर्म दर्शनलाई व्याख्या गर्ने क्रममा उनका विचारले मानव जातिका लागि मात्र नभई सम्पूर्ण प्राणीहरूप्रति करुणाभावमा जोड दिएको पाइन्छ । उनले तर्क, बुद्धि, विवेक, न्याय र प्रज्ञामा आधारित ज्ञान÷उपदेशहरू दिएको पाइन्छ । मानिसका लागि स्वतन्त्रता, सामाजिक न्याय र समानतामा जोड दिएको पाइन्छ । नयाँ परिभाषाका रूपमा वैभाषिक मत, सौत्रान्तिक मत र माध्यमिक मतलगायत अनेकौं मतहरूको पनि विकास भएको पाइन्छ । त्यस्तैगरी हीनयान, महायान, वज्रयान जस्ता सम्प्रदायहरूको पनि विकास भएको पाइन्छ । समाधि, सम्यक् संस्कार, त्रिशरण संस्कार, पञ्चशील संस्कार, परित्राण संस्कार, प्रज्ञापारमिता संस्कार र योगाचार जस्ता कुराहरूबाट मानिसलाई सत्कर्ममा हिंडाउन खोजिएको पाइन्छ । गौतम बुद्धका महत्वपूर्ण प्रवचनहरू सदाका लागि ज्ञानवद्र्धक र पथप्रदर्शकको रूपमा रहेको पाइन्छ ।

गौतम बुद्धका विचारले विश्वमै महत्वपूर्ण धर्म—दर्शनको आकार र आधार प्राप्त गरेको छ । बुद्धका शान्ति र समभावका विश्वव्यापी दृष्टिकोणहरू समयको विकासक्रमसँगै प्रयोगमा आएका छन् । यसको प्रचारप्रसारमा विभिन्न सञ्चारको उपयोग गर्दै अशोक पुत्र महेन्द्र र पुत्री संघमित्रा सिंहली दिप, कुमारजीव र परमार्थ (चीन), शान्तरक्षित र कलमशील तिब्बत पुगेका घटनाहरू यस क्रममा विशेष स्मरणीय छन् । यी त केवल दृष्टान्त मात्र हुन् । यो अभियान अनवरत चलिरह्यो । सञ्चारका विभिन्न माध्यम र सञ्चारकर्मीहरूबाट हँुदै आएको सञ्चार क्रियाले बौद्धदर्शनको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।बुद्धले प्रतिपादन गरेका चार आर्य सत्य र अष्टाङ्ग मार्गलाई बौद्ध दर्शनमा आचार–मीमांसाको रुपमा मानिन्छ । तत्कालीन समाजमा बुद्धका विचारको प्रभाव बढ्दै जानुमा उनका विचार मानव कल्याणमा आधारित हुनु हो । सञ्चारमा बुद्धका अवधारणाहरूको मौलिक स्थान रहेको छ । जीवन पर्यन्त विश्वकल्याण र शान्तिको सन्देशबाहक बनेका गौतम बुद्ध शान्ति सञ्चारको अग्रनायकका रूपमा रहेका छन् । मानव समाजको विकास क्रममा आएको महत्वपूर्ण र वैज्ञानिक दर्शनका रूपमा बौद्ध धर्म दर्शनलाई लिइने गरिन्छ । यो धर्म दर्शनले त्यस अघिका सबै प्रकारका दार्शनिक चिन्तनहरूका वैज्ञानिक र सान्दर्भिक कुराहरूलाई स्वीकार गरेको छ भने अवैज्ञानिक, अन्धविश्वासी र असान्दर्भिक कुराहरूलाई खण्डन गरेको छ ।

विश्वशान्तिका लागि सञ्चारः

गौतम बुद्धको महापरिनिर्वाणपछि इसापूर्व २४९ तिर भारतका सम्राट् अशोकले विशेष गरी दक्षिणपूर्व एसियाका मुलुकहरूमा मध्यपूर्व एसिया र दक्षिण युरोपसम्म धर्मदूतहरू पठाई बौद्ध धर्मदर्शनको प्रचार गरेको पाइन्छ । सम्राट् अशोकले आफ्नै छोरा महेन्द्र र छोरी सङ्घमित्रलाई भिक्षु र भिक्षुणी बनाई धर्मप्रचारार्थ श्रीलङ्कामा पठाए पछि त्यसक्षेत्रमा बौैद्ध धर्मदर्शनको प्रभाव विस्तार भएको पाइन्छ । त्यसपछि विश्वका बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका, बौद्ध विद्वानहरू, बौद्ध सङ्घ—संस्थाहरू एवम् अनुयायीहरू र सञ्चारका विभिन्न माध्यमहरूले खेलेको भूमिकाले बौद्ध धर्म—दर्शनको प्रभाव बढेको पाइन्छ ।दक्षिणपूर्वी एसियाका बर्मा अर्थात् म्यानमार, थाइल्याण्ड, श्रीलङ्का, लाओस्, कम्बोडिया, भियतनाम आदिमा बौद्ध धर्म–दर्शनको प्रभाव विस्तार भएपछि क्रमशः यसले विश्वव्यापी प्रभाव दिन सकेको पाइन्छ । त्यस्तैगरी जापान, चीन, मंगोलिया, रुस, ताइवान, भुटान, सिक्किम आदि मुलुकहरूमा पनि बौद्ध धर्मदर्शनको प्रभाव देखिन्छ । नेपाललगायतका विश्वका विभिन्न स्थानमा हीनयान (थेरवाद), महायान र बज्रयान सम्प्रदायको प्रभाव भने फरक–फरक पाइन्छ ।

विश्व–राजनीतिमा विभिन्न दर्शन र सिद्धान्तको प्रभाव देखिन्छ । राजनीतिक प्रणालीका आधारमा सञ्चार क्षेत्र पनि प्रभावित र निर्देशित भएको पाइन्छ । त्यसको आधारमा सञ्चारका विभिन्न सिद्धान्तहरू बनेको पाइन्छ । गौतम बुद्धका विचारले विश्वराजनीति, द्वन्द्व व्यवस्थापन र शान्तिका लागि प्रभाव पारेको देखिन्छ । विश्वका विभिन्न मुलुकमा बौद्ध धर्मदर्शनलाई आधार मानेर राज्य सञ्चालनको लागि मार्गदर्शनको रुपमा लिएको समेत पाइन्छ । विश्वशान्तिको सवाल आउने वित्तिकै बुद्धका विचारको महत्व बारे स्वभाविक चर्चा हुने गर्दछ । संयुक्त राष्ट्र संघले समेत बुद्धका विचारलाई मार्ग दर्शनका रुपमा स्वीकार गरेको पाइन्छ । विश्व–शान्तिका बारेमा विभिन्न सिद्धान्तहरूको चर्चा, व्याख्या र विवेचना भएको त पाइन्छ । तर बौद्ध दर्शनको आलोकमा शान्तिका लागि सञ्चारले खेल्दै आएको भूमिका बारे उच्च महत्वका साथ आवश्यक चर्चा र विवेचना भएको नपाइएको ठहर गरी लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यावारिधि (पीएच्डी)का शोधार्थीमार्फत अनुसन्धान गराई ‘सञ्चारमा शान्ति सिद्धान्त (एभबअभ त्जभयचथ ष्ल ऋयmmगलष्अबतष्यल)’ को प्रतिपादन र औचित्य पुष्टी गराएको छ । यस सिद्धान्तले विश्वका सत्ता सञ्चालकहरुबाट सञ्चार नीति बनाउँदा र सञ्चार माध्यमहरुमा विषयवस्तु प्रस्तुत गर्दा समाजमा शान्तिका लागि योगदान पुग्न सक्ने सूचना, समाचार र विचारलाई उच्च महत्वका साथ सञ्चारित गर्नु बाञ्छनीय ठान्दछ ।

बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार रहेको पाइन्छ । यसका अतिरिक्त स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइन्छ । सञ्चारको विकास क्रममा छापा माध्यम, पत्र–पत्रिका, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट र अनलाइन जस्ता आधुनिक एवम् व्यावसायिक सञ्चारमाध्यमहरूको विकास भइसकेपछि बौद्धदर्शन विश्वव्यापी हुँदै गएको पाइन्छ । गौतम बुद्धको जन्मकालमा आधुनिक सञ्चारमाध्यमहरूको विकास भएको थिएन तापनि सूचना, समाचार र विचार सम्प्रेषण गर्ने विभिन्न तरिकाहरू थिए । ती तरिकाहरूलाई गौतम बुद्धले प्रयोग गरेका थिए । पहिलो त उनले अन्तर्मुखी सञ्चार नै प्रयोग गरे । दोस्रो उनले अन्तर्वैयत्तिक सञ्चारलाई उपयोग गरे । त्यस्तैगरी तेस्रोमा समूह सञ्चार पद्धतिको उपयोग गरे । असीमित समुदायमा सञ्चारित गरिने विषय आमसञ्चारको परिभाषा भित्र पर्ने हुँदा बुद्धकालमा भएका धर्मसभाहरूलाई प्राचीन आमसञ्चारको रूपमा लिन सकिन्छ । हिंसा र द्वन्दग्रस्त आधुनिक विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेको अवस्था छ । यस अवस्थामा बौद्ध–दर्शनको औचित्य र उपयोगिता झनै बढ्दै गएको छ ।

निष्कर्षः
हिंसा र हातहतियारको प्रयोगले मानवसमाजमा शान्ति स्थापना हुन सक्दैन भन्ने कुरा पुष्टी भइसकेको छ । त्यसका लागि मानिसले आफैभित्र शान्तिको खोजी गर्नुपर्छ । त्यो वैज्ञानिक शान्ति मार्ग बौद्ध–दर्शनमा छ । यस आधारमा आधुनिक सञ्चारका माध्यमहरूले आम मानिसलाई सरल र प्रभावकारी ढंगले वैज्ञानिक विधि र शैलीद्वारा बौद्ध दर्शन बारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुने विश्वास गरिएको छ ।बुद्धले मानव समाजमा समानता, स्वतन्त्रता, न्याय र विश्वबन्धुत्वका लागि महत्वपूर्ण विचार दिएका छन् । सामान्य रूपमा मारकाटको विषय ‘हिंसा’ को एउटा रूप मात्र हो, व्यापक अर्थमा बुझ्दा ‘कायिक, वाचिक र मानसिक’ रूपमा पनि हिंसा गर्नुहुँदैन । ‘घृणा’ नै हिंसाको वीज हो, अर्काको हक खोस्नु र धोका दिनु पनि एक किसिमको हिंसा नै हो । ‘शान्तिपूर्ण सहअस्तित्व’ पनि बुद्धका विचारको महत्वपूर्ण स्थान रहेको छ । संसारका सबै समस्याको शान्तिपूर्ण समाधान संभव छ र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु नै सहअस्तित्व हो भन्ने बुद्धदर्शनको आधार हो । अस्तित्वको अस्वीकृति नै झगडाको जड वा मूल हो भनेका हुँदा बुद्धका ती विचारबाट आणविक हातहतियारको प्रयोगबाट विश्वमा शान्ति खोज्नेहरूलाई मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता चतुब्रह्मविचारको महत्व बताउँदै शान्ति–मार्गमा अघि बढ्न प्रेरित गरिएको छ । उनले समानतावादी सोच र असल विचारबाट शान्ति प्राप्त हुन सक्छ भन्ने सन्देशको सञ्चार गरेका छन् ।

विश्व–शान्तिका लागि बौद्ध–दर्शन र सञ्चार परिपूरकको रूपमा रहेका छन् । यसलाई सँगै जोडेर समान रूपमा अगाडि बढाउन आवश्यक देखिन्छ । बुद्धका विचारको प्रभावकारी सञ्चार हुँदा समाजमा शान्ति स्थापना हुने देखिन्छ । गौतम बुद्धले शान्तिको खोजी मनभित्रैबाट गरेका र मनभित्रका विकार र नकारात्मक सोच हटाई सकारात्मक चिन्तनको विकास हुँदै गएमा सुख र शान्ति प्राप्त हुने वैज्ञानिक मार्ग बताएकाले यस दिशामा विश्व मानव जातिलाई अग्रसर हुन प्रेरित गर्नु आवश्यक देखिन्छ ।विश्वमा देखा परेको मानव–मानव बीचको वैमनस्यताको न्यूनीकरण र नैतिक जीवनका लागि प्रेरित गर्ने गरी छापा, चलचित्र, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, अनलाइनका साथै पछिल्लो समयमा सूचना–प्रविधिको विकाससँगै आएका न्यु मिडियाहरूले गौतम बुद्धका विचारहरूलाई आम जनताका बीचमा सरल र सहज ढङ्गले बुझ्ने गरी प्रचार–प्रसार गर्नु आवश्यक देखिन्छ ।
( सञ्चारमा शान्ति सिद्धान्तका प्रतिपादक एवं व्याख्याता डा. चापागाईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ । )