प्रदेश १ मा माओवादी केन्द्रको पदाधिकारी चयनका लागि निर्वाचनमै जाने तयारी

प्रकाशित मिति:

प्रदेश १ मा माओवादी केन्द्रको प्रदेश अध्यक्ष र पदाधिकारी चयन पेचिलो बनेको छ । प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी सहमतिका आधारमा टुङ्गो लगाउने प्रयास असफल बनेपछि अब निर्वाचनको विधिबाट चयन हुने सम्भावना बढेको छ ।यसअघि बसेको प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् ।उक्त समितिको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक मंगलबारका लागि बोलाइएको छ । ‘सो बैठकमा कार्यदलको निष्कर्ष सुनाउने र निर्वाचन प्रक्रियामा जानेबारे सहमति हुनसक्ने देखिन्छ,’ कार्यदलका एक सदस्यले रातोपाटीसँग भने, ‘बैठकमा पदाधिकारी चयनका लागि हुने निर्वाचन प्रक्रियाचाहिँ पार्टीको राष्ट्रिय सम्मेलन अगाडि सक्ने कि राष्ट्रिय सम्मेलन पछाडि गर्ने भन्ने विषयमा छलफल हुनेछ ।’पदाधिकारी छनोटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरुले जोड दिएका छन् । ‘आफै अध्यक्ष बन्ने गरी सहमति गरेर आउनुहोस् भन्दा पनि सहमति हुन सकेन बरू हामी छोड्छौं भन्ने सहमति गरेको खबर लिएर आउनेहरुलाई नै प्रदेशका पदाधिकारी चयन गर्ने जिम्मा दिएपछि हुने नै यस्तै हो,’ एक प्रदेश सदस्यले भने, ‘अब निर्वाचन प्रक्रिया नै एउटै विकल्प हो ।’

अध्यक्ष पदका लागि आधा दर्जन आकांक्षी

अहिलेसम्म प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका धु्रवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन् ।महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिं राजवंशीलगायतले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् ।अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको आकांक्षीहरु नै बताउँछन् । यस्तै सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन् ।सहसचिवमा भने सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन् । कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारीलगायतले दाबी गरेका छन् ।

विधानले तोकभन्दा बढी सदस्य

माओवादी केन्द्रको विधानमा २५९ सदस्यीय प्रदेश समिति रहने व्यवस्था छ । तर, मोरङको विराटचौकमा गत शनिबार भएको माओवादी केन्द्रको प्रथम अधिवेशनबाट २५१ जनाको नाम पढेर पारित गरियो । शपथ ग्रहण र प्रमाणपत्र वितरण समारोहमा २७६ जनालाई सहभागी गराइयो । अब निर्वाचन प्रक्रियामा जाँदा कति जनाले मताधिकार राख्छन् भन्ने विषयमै विवाद हुने देखिएको छ ।माओवादी केन्द्रका एक नेताले विधानमा २५९ सदस्यीय प्रदेश समिति रहने व्यवस्था भए पनि अधिवेशनबाट २७६ जनालाई शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको बताए ।विधान बमोजिम गर भनेर हामीले भनेको पनि गर्दैनन्,’ ती नेताले थपे, ‘विधानको पालना पनि गर्दैनन्, आफू पनि ढंग पु¥याउँदैनन्, अब चुनावी प्रकृयामा जाँदा पनि ठूलो समस्या निम्तिने देखिन्छ ।’माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मंसिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा पदाधिकारी चयन हुन नसकेपछि कार्यदलले टुंगो लगाउने गरी अधिवेशन अन्त्य गरिएको थियो ।