अमेरिकामा मृत्युदण्ड घट्यो !

प्रकाशित मिति:

वासिङ्टन, २८ मङ्सिर (रासस/एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ । अमेरिकामा यस वर्ष सन् २०१८ मा २५ जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार मात्र फ्लोरिडा राज्यमा एक जनालाई मृत्युदण्ड दिइएको छ । यस वर्षका लागि यो नै अन्तिम मृत्युदण्ड रहेको मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी) ले जनाएको छ ।
“सन् २०१८ मा नयाँ मृत्युदण्डको सजाय सुनाइएको र मृत्युदण्ड दिइएको घटना ऐतिहासिक रुपमै सबैभन्दा न्यून हो,” डीपीआईसीले भनेको छ ।
मृत्युदण्डका घटनाहरुमा कमी आउनुको अर्को कारण होः वासिङ्टन राज्यले मृत्युदण्डलाई गैरकानुनी घोषणा गरेको छ, र यस्तो गर्ने अमेरिकाको यो २० औं राज्य हो । बाँकी रहेका ३० वटा राज्यमध्ये पनि आठ वटा राज्यमा मात्र मृत्युदण्ड दिइएको छ । टेक्सस राज्यले सन् २०१८ मा वर्षभरि अमेरिकामा दिइएका मृत्युदण्डमध्ये आधाभन्दा बढी अर्थात् १३ जनालाई मृत्युदण्ड दिएको छ ।

अर्कोतर्फ मृत्युदण्डको सजाय सुनाइएकाहरुको संख्यामा पनि कमी आएको छ । सन् २०१८ मा ४२ जना विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । सन् १९९६ मा ३१५ जना विरुद्ध यस्तो फैसला सुनाइएको थियो ।
राष्ट्रपति ट्रम्पले पटकपटक मृत्युदण्ड दिइनुपर्ने भन्दै वकालत गरिआउनुभएको छ । “मन्दिर, चर्चमा निर्दोष नागरिकमाथि ज्यादती गर्ने जोसुकैलाई कठोर सजाय दिनै पर्दछ,” गत अक्टोबर २७ मा ट्रम्पले भन्नुभयो । अमेरिकाको पिट्सवर्गस्थित यहूदी प्रार्थना गृहमा ११ जनाको ज्यान जाने गरी भएको निर्मम आक्रमणपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो । राष्ट्रपति ट्रम्पले प्रहरीको हत्यामा संलग्न हुने तथा लागूऔषध नियन्त्रणमा खटिने व्यक्तिमाथि आक्रमण गर्नेहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने बताउँदै आउनुभएको छ ।

अमेरिकी सर्वोच्च अदालतले सन् १९७२ मा मृत्युदण्डको प्रावधानलाई हटाएको थियो तर सन् १९७६ मा अदालतकै आदेशमा पुनः सक्रिय बनाइयो । त्यसयता, यसको प्रयोगमा कडाई गरिएको छ । सन् २००५ मा बालबालिकालाई मृत्युदण्ड दिन नपाइने नियम बनाइयो । पछिल्ला १० वर्षमा मृत्युदण्डका घटनाहरुमा कमी आएको छ । खासगरी मृत्युदण्ड दिँदा घातक सुईको प्रयोग गर्ने वा नगर्ने भन्ने कानुनी लडाइँ र सार्वजनिक बहसका कारण मृत्युदण्ड रोकिएका हुन् ।

मृत्युदण्डको सजायको विपक्षमा रहेकाहरुले घातक सुईको प्रयोग र त्यसमा प्रयोग हुने औषधिका सम्बन्धमा एकपछि अर्को उजूरी गरेका थिए । ठूला औषधि उत्पादक कम्पनीहरुले यस्तो घातक औषधि उपलब्ध गराउन पनि अस्वीकार गरेका थिए ।

यही कारण, सन् २०१८ मा विद्युतीय कुर्चीको पुनः प्रयोग गर्न थालियो । सन् २०१३ पछि पहिलो पटक टेनेसी राज्यमा विद्युतीय कुर्चीमा राखेर दुई जनालाई मृत्युदण्ड दिइएको छ । दुबै अवस्थामा, सजाय पाउने व्यक्तिले मृत्युदण्डका लागि विद्युतीय कुर्ची रोजेका थिए । सर्वोच्च अदालतकी प्रगतिशील न्यायाधीश भनेर चिनिनुभएकी सोनिया सोतोमायोरले मृत्युदण्डको सजाय फुकुवा गर्ने अदालतको आदेशमा विमति राख्नुभएको थियो । गत अक्टोबरमा गरिएको ग्यालप सर्वेक्षण अनुसार ५६ प्रतिशत अमेरिकीहरुले मृत्युदण्ड दिनुपर्ने अभिमत दिएका थिए । यो सन् २०१७ को झैं अवस्था हो, तर ४५ वर्षमा यो अभिमत सबैभन्दा न्यून हो ।