नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र पुस्तान्तरण प्रक्रिया सुरू भएको बताएका छन्। उनले पुस्तान्तरणको आवाज ग्रास लेभलबाटै उठिरहेका बेला अब पार्टीलाई रूपान्तरित कांग्रेस बनाउन जिम्मेवारी थपिएको बताए। उनले भने,‘यसका लागि पुस्तान्तरण जरूरी छ।’महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका शर्माले बिपीले स्थापित गरेको संस्कार अनुसार पार्टीको आन्तरिक चुनावमा नेतृत्व चयन मात्र भएको यसमा कसैको हारजित नभएको उनले बताएका छन्। चुनावपछि सबै बेमेलहरूलाई हटाएर रूपान्तरित कांग्रेसको पथबाट पार्टी अगाडि बढ्न सक्ने उनले दाबी गरेका छन्।
‘भ्रातृ संस्थाको सही व्यवस्थापन, प्रवृत्तिमा रूपान्तरण, प्रविधिको प्रयोग र पुस्तान्तरणको प्रक्रियालाई टुङ्गोमा नपुर्याएसम्म नेपाली कांग्रेस यथास्थितिमै रहन्छ र केही हुन्न,’ उनले भने।कार्यक्रममा महामन्त्री शर्माले आफू बधाई थाप्न नभई झापा र झापालीलाई आभार व्यक्त गर्न आएको बताए।शर्माले झापामा नेता कृष्ण सिटौलाको नेतृत्वमा पाँचवटै क्षेत्रमा चुनाव जित्ने गरी अघि बढ्ने बताए। उनले जिल्ला पार्टी नेतृत्वलाई अघि लगाएर हिँड्न र सहयोग गर्न कार्यकर्तालाई अनुरोध गरे। पार्टीका कार्यकर्तामा इमान्दारिता रह्यो भने झापाका पाँच वटा निर्वाचन क्षेत्र मात्र होइन मुलुकमै नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने उनको दाबी छ। स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेस अब ठूलो पार्टी भएर उदाउने महामन्त्री शर्माले बताए।