ललित पाण्डे/बुटवल ,८ पुष- खोरेट रोग उन्मुलनकालागि लम्बिनी प्रदेशका दश जिल्लामा २५ सय प्राविधिकलाई खटाइएको छ । प्रदेशको कृषि मन्त्रालयले रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पामा खोप लगाउन भ्याक्सिनेटरहरु नियुक्त गरेको हो ।यी जिल्लामा पहिलो चरणमा ६ लाख ५२ हजार पाँच सय डोज खोप लगाइने मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा थप साढे ६ लाख डोज खोप आउने छ । यो वर्ष गाई र भैँसीलाई मात्र खोरेट विरुद्धको खोप लगाउने कार्यक्रम छ ।
विगतमा पनि घरपालुवा जनावरलाई खोरेतको खोप लगाइएको थियो । तर प्रदेश भित्र खुरफट्टा जनावर कति छन्, कति जनावरलाई खोप लगाइएको छ, बाँकी कतिलाई लगाइएको छैन, केही तथ्यांक छैन । यो आर्थिक वर्षबाट मन्त्रालयले अनलाइन इन्ट्री हुने गरि खोप लगाउने व्यवस्था मिलाएको छ । त्यसकालागि प्राविधिकहरुले अनलाइन एप प्रयोग गर्नेछन् ।नियुक्त भएका प्राविधिकहरुले अनलाइन इन्ट्री गरेपछि मात्र संख्याको हिसाबमा भुक्तानी पाउने नियम मन्त्रालयले बनाएको कृषि मन्त्रालयका पशुपन्छी विकास महाशाखा अधिकृत हुमकान्त पाण्डेले बताए ।
अनलाइन एपको व्यवस्थाले अब प्रदेशमा खुरफट्टा जनावरको संख्या र सबै जनावरलाई नदोहोरिने गरि खोप लगाउन सहज हुने छ । मन्त्रालयले रुपन्देहीका प्राविधिकहरुलाई खोप लगाउन, तथ्यांक संकलन र अनलाइन एप चलाउन एक दिने तालिम सञ्चालन गरेको थियो । यता रुपन्देहीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका दशवटा स्थानिय तहमा खोप लगाउन ७६ जनालाई नियुत्त गरेको छ । स्थानिय तहले गरेको सिफारिसका आधारमा विज्ञ केन्द्रले नियुत्ती दिएको हो ।खोरेत रोग उन्मुलन अभियान कार्यक्रम अन्तरगत केन्द्रले प्राविधिकहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरेको थियो । प्राविधिकहरु आउने आइतबार देखि खोप लगाउन खटिने विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले जानकारी दिए ।
एक महिना भित्रमा सबै स्थानिय तहमा खोप लगाउने अभियान सम्पन्न गर्ने तयारी केन्द्रले गरेको छ । अनलाइन इन्ट्री हुनेहुँदा अब कुन जनावरले खोरेत बिरुद्धको खोप लगाएको छ वा छैन थाहा पाउन सजिले भएको छ । यसले खोरेत रोग उन्मुलन कार्यक्रम प्रभावकारी हुने पशु चिकित्सकहरुले बताएका छन ।रुपन्देहीमा करिव दुई लाख ५० हजार गाईभैँसी छन् तर खोप डेढ लाख मात्र आएको छ । यहीँ वर्ष कञ्चन गाउँपालिकामा खोरेट रोग फैलिएकोले पनि आसपासका सबै स्थानिय तहमा खोप अनिवार्य लगाउनुपर्ने प्राविधिकहरुको सुझाव छ । त्यसकालागि मन्त्रालयले थप खोपको व्यवस्था गर्नुपर्ने देखिएको छ ।