८ पुस, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको आरोप लगाएका छन् । विकासका लागि काम गर्ने सरकारलाई ढालेर गठबन्धनका नाममा जनताले नचुनेको सरकार गठन गरिएको उनले दावी गरे ।नेकपा एमाले जिल्ला कमिटी पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताए ।
‘विभिन्न जालझेल गरेर सरकार ढाले, गठबन्धनको नाममा निकम्मा सरकार बनाइएको छ । जसलाई जनताप्रति, विकासप्रति मतलब छैन । त्यसकारण अहिले देशको विकास रोकिएको छ आयात बढेको छ, मुद्रास्फिती बढेको छ, वैदेशिक मुद्राको सञ्चितीमा समस्या आएको छ । बैंकमा जाँदा पैसा छैन’ उनले भने ।विकासमा अगाडि बढ्न खोज्नेवित्तिकै देशी विदेशी शक्ति प्रयोग गरेर सरकार ढाल्ने प्रवृत्ति देखिएको उनले बताए ।
‘अहिलेको सरकार जनताले बनाएको हैन, जनताले त धुस्नु हराएको छ । १ सय ६५ ठाउँमा प्रत्यक्ष निर्वाचनमा कांग्रेसलाई २३ सिटमा झारेको छ । प्रचण्डलाई पनि मैले समर्थन गरेर, आग्रह गरेर जिताएको हो,’ उनले भने ।आफू सरकारमा छँदा अत्यधिक धेरै पुलहरु बनेको, साढे ४ सय बाटो बनेको, पूर्वपश्चिम राजमार्गलाई चौडा गर्ने काम शुरु गरेको ओलीले बताए । नयाँ नयाँ हवाइ मैदान बनाएको, काठमाडौंलाई तराइसँग जोड्ने फाष्ट ट्रयाक, उत्तर दक्षिणका करिडोर सडकहरु निर्माण सुरु गरेको उनले बताए ।बिहीबार ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ नेकपा एमालेका प्रवेश गराएका छन् ।