प्रदेशसभामा अध्यादेश पेश गर्ने प्रदेश २ सरकारको तयारी

प्रकाशित मिति:

काठमाडौं । प्रदेश २ सरकारले प्रदेशसभामा आइतवार अध्यादेश पेश गर्ने तयारी गरेको छ ।आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो ।

आज प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धि अध्यादेश पेश गर्ने भएको हो । केही साता अघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ स्वीकृत भइसकेको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले सो अध्यादेश पेश गर्नुुहुने कार्यसूची रहेको छ । यता अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अध्यादेश अस्वीकृत गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।अध्यादेश अस्वीकृत गर्ने प्रस्तावमा छलफलपछि मन्त्री साहले जवाफ दिने र मन्त्रीले अध्यादेश पेश गरेपछि पुनः छलफल हुने कार्यसूची रहेको सचीव यादवले बताउनुभयो ।