स्याङ्जा, १३ पौष । गण्डकी प्रदेशका नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक तथा सांसद भागवत् प्रकाश मल्लले शिक्षा मानिसको दैनिक जीवनसँग जोडिनुपर्ने बताउनुभएको छ । उहाँले आज स्याङ्जा जिल्लाको गल्याङ् १० मा रहेको पकवादी भञ्ज्याङ् माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
सांसद मल्लले शिक्षा व्यावहारिक र उपयोगी नभएसम्म समाज र राज्य नसुध्रिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षाले मानिसलाई सीप र ज्ञान दिनुपर्छ । शिक्षा जीवनसँग जोडिनुपर्छ ।’ आजको शिक्षा अव्यावहारिक भएकाले शैक्षिक बेरोजगार जन्मिएको भन्दै सांसद मल्लले शिक्षा प्रविधि र श्रमसँग सम्बन्धित भएमात्र आजको बेरोजारी समस्या समाधान हुने धारणा राख्नुभयो । कृषिप्रधान देशमा शिक्षालाई कृषिसँग जोड्न नसक्दा कृषिमा दक्ष जनशक्ति उत्पादन हुन नसकेको विचार व्यक्त गर्नुभयो ।