कांग्रेसले सरकारलाई घेराबन्दी गर्ने, सडक आन्दोलन घोषणा हुने !

प्रकाशित मिति:

काठमाडौं, १ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध महासमिति बैठकबाट आन्दोलनको घोषणा गर्ने आन्तरिक तयारी गरेको छ । शनिबारदेखि काठमाडौंको रामशहापथस्थित एक पार्टी प्यालेसमा शुरु भएको महासमिति बैठकमा कांग्रेसले सरकारविरुद्धको आन्दोलन गर्ने औपचारिक प्रस्ताव राख्ने तयारी गरेको हो । कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारविरुद्ध तीन वटा प्रदर्शन गर्ने प्रस्ताव राख्ने बताएका छन ।

उदघाटन कार्यक्रममा उपसभापति निधिले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव राखे । उनले महासमितिको बन्दसत्रमा सरकारविरुद्धको आन्दोलनको कार्यक्रम गर्ने प्रस्ताव औपचारिक रुपमै राख्ने बताए । ‘सरकारविरुद्ध पुस, माघ र फागुन महिनामा एक–एक वटा प्रदर्शनको कार्यक्रम गर्नुपर्छ’, उनले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक महिनाको अन्तिम साता देशभरि सबै जिल्लामा प्रदर्शन गर्नुपर्छ ।’ निधिले प्रस्ताव अगाडि बढाएका कार्यक्रमको समय र स्वरुप महासमितिको बैठकले दिने निर्देशनमा भर पर्ने पनि बताए । उपसभापति निधिले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको भन्दै भने, ‘निर्मला पन्तका हत्यारा र दोषीहरूलाई संरक्षण गरेको छ । मूल्यवृद्धि भएको छ । जताततै अराजकता छ । तस्करहरूलाई संरक्षण भएको छ । बुद्धिजीवीहरूलाई ठहरै पार्ने भनेर धम्की दिइएको छ । प्रेसमाथि अंकुश लगाउने प्रयास भएको छ । यो सबै अधिनायकवादको संकेत हो ।’

प्रधानमन्त्री ओलीको कार्यशैली र अराजक अभिव्यक्तिले मुलुकलाई अधिनाायकवादतर्फ लैजान लागेको निधिको आरोप थियो । ‘मुलुकलाई कम्युनिस्टहरूको अधिनायकवादबाट कांग्रेसले मात्रै जोगाउन सक्छ’, उनले भने, ‘यो सरकारको गलत कुराको विरोध गर्न पनि सडक आन्दोलन अनिवार्य छ ।’ कांग्रेसले महासमिति बैठकबाट संसदमा पनि आफूलाई सशक्त प्रतिपक्षका रुपमा उभ्याउने तयारी गरेको छ ।

थप समाचार