अनौपचारिक शिक्षामा विद्यार्थी टिकाउन कठिन

प्रकाशित मिति:

पुष १ पर्वत । नेपाल सरकारले २ वर्षअघि सुरु गरेको अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा बिद्यार्थी टिकाउनै कठिन हुन थालेको छ ।
पर्वतको कुस्माबजार स्थित शिबालय माबिमा सञ्चालित अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा खाजा खुवाउने समस्याका कारण बिद्यार्थी नियमित उपस्थित गराउनै कठिन भएको हो । ‘

शिवालय माविले अनौपचारिक शिक्षा कार्यक्रम शुरु गरेपछि १९ परिवारका बालबालिका नियमित कक्षा आउने गरेका थिए । मजदुरी गर्ने र राजमार्गमा आउजाउ गर्ने यात्रीसँग पैसा मागेर गुजारा चलाउने केटाकेटीलाई विद्यालयको पहुँचसम्म ल्याउन सुरु गरेको कक्षामा उनीहरु नियमित आउनै मान्दैनन्। यही कारणले विद्यालयले उनीहरुका लागि कक्षामा खाजा खुवाउन सुरु गरेपनि खाजा कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले नसकेपछि बिद्यार्थी टिकाउन समस्या भएको प्रधानाध्यापक भुपेन्द्र चापागाईले बताउनुभयो ।

‘कहिलेकाहीं स्थानीय व्यवसायीले दुईरचार बोरा चिउरा, चामल र पिठो दिएर सहयोग गर्दा खाजा खुवाउन सकिन्छ ।’ उहाँले भन्नुभयो ‘ खाजा नभएपछि फेरी बिद्यार्थी खोजेर ल्याउनै मुस्किल हुन्छ।’सहयोगी दाताहरुले दिएको नगद र जिन्सी दुवै अभाव हुँदा कहिलेकाहीं खाजा नियमित हुन नसक्दा समस्या हुने गरेको छ । खाजा बनाउन नसक्दा बच्चाहरु भोलिपल्ट स्कुल आउनै नमान्ने प्रअ चापागाईले बताउनुभयो ।

बजारक्षेत्रमा मजदुरी गर्ने, पारिवारिक समस्याले नियमित विद्यालय आउन नसक्ने बालबालिकालाई अनौपचारिक शिक्षा दिन २०७४ वैशाखदेखि यस्तो कक्षा सञ्चालन भएको हो । कक्षामा ५ देखि १८ वर्षसम्मका केटाकेटी पढ्छन् ६ महिनासम्म नियमित अध्ययन गरेपछि उनीहरुको क्षमताअनुसार नियमित कक्षामा पठाइन्छ । ‘पोहोर २२ जना विद्यार्थी आएका थिए,’ प्रअ चापागाईंले भन्नुभयो ‘चारजना नियमित कक्षामा गए । अहिले १९ जना अनौपचारिकमै छन् ।’

बालबालिकाको समय अनुकूल हुनेगरी बिहान र बेलुका गरी दुई पटक कक्षा सञ्चालन हुँदैआएको सहयोगी पार्वती सापकोटाले बताउनुभयो । उनीहरुलाई कक्षासम्म नियमित ल्याएर अक्षर चिनाउन निकै मुस्किल परेको विद्यालयले जनाएको छ । सबै बालबालिकालाई घरघरै लिन जानुपर्छ ।

यता कुश्मा नगरपालिकाले यो विद्यालयमा कार्यरत सहयोगीका लागि बजेट निकासा नगर्दा तलब खुवाउन समस्या परेको छ । बजेट निकासा नभएपछि विद्यालयले अन्य स्रोतबाट पारिश्रमिक दिन नसकेको व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बताउनुभयो ।