चोरबाटो हुँदै अमेरिका पुगेका ४५ नेपाली देश निकाला !

प्रकाशित मिति:

काठमाडौं, १ पुस । लाखौं खर्चेर चोर बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई अमेरिकाले देस निकाला गरेको छ । अन्तर्राष्ट्रिय दलाल सञ्जालमार्फत चोरबाटो हुँदै यसै बर्ष प्रवेश गरेका नेपालीलाई देस निकाला गरिएको संयुक्त राज्य इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइ इ एस)को विवरणमा उल्लेख छ । यो, सन् २०१८ मा मात्र मेक्सिको हुँदै प्रवेश गरेका २ लाख २६ हजार ५ जनालाई देस निकाला गर्दा परेका नेपालीको संख्या हो ।

आई ई एसका अनुसार अमेरिकी प्रशासनको कानुन उल्लंघन गरी मेक्सिकोको सीमाबाट छिरेकालाई हिरासतमा लिई अनुसन्धान गरेर देस निकाला गरिएको थियो । अमेरिकालाई सपनाको देस भन्दै चोरबाटोबाट त्यहाँ पुग्ने नेपालीहरूको संख्या पनि उच्च रहेको छ ।

दलालको चंगुलमा परी दक्षिण अमेरिकी राज्यका विभिन्न मुलुकमा ६/७ महिना लुकेर मेक्सिको हुँदै अन्तर्राष्ट्रिय दलालहरूले नेपालीलगायतलाई अमेरिका प्रवेश गराउँदै आएका थिए । त्यसवापत एउटा नेपालीले कम्तिमा पनि ४० देखि ४५ लाख रूपैंयासम्म खर्च गर्छन् ।

अन्य मुलुकको तुलनामा देस निकाला भएका नेपालीको संख्या कम देखिन्छ । आई इ एसका अनुसार ग्वाटेमालाका झण्डै ५० हजार, होण्डुरसका २८ हजार ८ सय ९४, एल साल्भाडोरका १५ हजार ४४५ जना देस निकाला भएका छन् ।

त्यसो त अघिल्लो बर्ष सन् २०१७ मा पनि चोरबाटो हुँदै अमेरिका पुगेका ४५ जना नेपाली देस निकाला भएका थिए ।

यो तथ्यांकमा देसनिकालाको प्रक्रियाका लागि आई इ एसमा पठाइएकाहरुको विवरणमात्र उल्लेख छ । तीब्र प्रकारको देसनिकाला र भोलेन्टियर रिटर्नमा परेकाहरूपनि आई इ एसको हिरासतमा परेको भएमा यो तथ्यांकमा उल्लेख छ । आई इ एसले हिरासतमा नलिएका तर युएस बोर्डर गस्तीले देसनिकाला गरेकाहरू भने यो तथ्यांकमा समावेश छैनन् । कस्टम एण्ड बोर्डर प्रोटेक्सनले विमानस्थलबाटै फिर्ता पठाएका वा अन्य सीमाबाट फिर्ता पठाएकाहरू पनि आई इ एसको हिरासतमा नभए तथ्यांक समावेश हुँदैन ।

राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी हिसाबले अमेरिका छिरेका विदेसी नागरिकलाई देस निकाला गर्ने घोषणा गरेका थिए । सोहीअनुसार नै ट्रम्प प्रशासनले काम गरिरहेको छ । यसअघि बाराक ओवामा प्रशासनले भने अवैध हिसाबले अमेरिका छिरेकालाई वैधानिकता दिएको थियो ।

अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आई इ एस) ले आर्थिक बर्ष २०१६ मा २५, २०१५ मा २३, जना नेपालीलाई देस निकाला गरेको रिपोर्ट सार्वजनिक भएको थियो । चोरबाटोबाट अमेरिका छिरेर भविष्य बनाउने उनीहरूको सपना तुहिइएको मात्र छैन, कहिल्यै अमेरिका जान नपाउने गरी देस निकाला गरिएको छ ।