विपद पत्रकारिता:डा. बालकृष्ण चापागाईं

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाईं- विपदको सिर्जना प्राकृतिक र मानवीय कारणबाट हुन्छ । ब्रम्हाण्ड र भूगोलसंग जोडिएका कतिपय विपदहरु मानवीय कारणले नभई भूमण्डलीय टकराव र असन्तुलनका कारण सिर्जित भएका हुन्छन् । मानव सभ्यताको विकासक्रममा जल, थल, आकाश, प्रकाश र वायुमण्डलमा मानवीय क्रियाकलापले पारेको नकारात्मक प्रभावका कारण ठूला–ठूला विपद आइपरेको पाइन्छ । विपदबाट जोगिनका लागि मनुष्य र समस्त प्राणी जातिले आश्रय लिइरहेको पृथ्वी सुरक्षित हुनु पर्दछ । साथै पृथ्वीसंग जोडिएका अन्य ग्रह, ब्रम्हाण्डीय चट्टान र नक्षत्रहरु बीच टकरावको स्थिति उत्पन्न हुन जाँदा पनि विश्वमा विपदको स्थिति उत्पन्न हुन जान्छ ।मानिसको उत्पत्ति भएयता जीवनयापन, उत्पादन र विकासका नाममा पृथ्वीमाथि भएको दोहन र अतिक्रमणले पारेको नकारात्मक प्रभावका कारणले पनि गम्भीर विपद उत्पन्न हुने गर्दछ । मानवीय क्रियाकलापले पृथ्वी, सागर र आकाशको कुनै पनि भागलाई क्षत विक्षत बनाउँदा पनि विपद सिर्जना हुन सक्छ । भूकम्पलगायतका प्राकृतिक असन्तुलनले ठूलो विपद आउन सक्छ । मानिस– मानिस बीचको राजनीतिक स्वार्थका कारण आणविक युद्धका घटनाले जनधनको ठूलो क्षति पुग्न गई विपदको स्थिति उत्पन्न भएका दृष्टान्तहरु रहेका छन् ।

विश्वमा हुने गरेको आणविक हातहतियारको प्रयोग, प्रकृतिको विनास र क्षयीकरण, समाजमा रहेको आर्थिक,राजनीतिक, सामाजिक र साँस्कृतिक विभेद, चरम गरिबी र भोकमरीजस्ता कुराले पनि विपदको स्थिति सिर्जना हुने गर्दछ । विश्वमण्डलका अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरु, पृथ्वी, जल, थल र आकाश बीचको आवश्यक सन्तुलन कायम रहेको अवस्थामा विपदको जोखिम कम हुन्छ । मानवसमाजमा विभिन्न स्वार्थ र द्वन्द्वका कारण हिंसात्मक युद्ध, विध्वंश, आतंक र अपराधजस्ता घटनाहरु हुने गरेको पाइन्छ । जैविक विविधता र प्रकृतिको संरक्षण नहुँदा पनि विपदको स्थिति उत्पन्न हुने गरेको छ । समाजमा असमानता र सामाजिक विभेदले गर्दा पनि विपद निम्तिने गरेको छ । समाजमा विद्यमान द्वन्द्व, हिंसा वा सशस्त्र युद्धजस्ता घटनाक्रमहरुले पनि विपद निम्त्याएका छन् ।आम विनाशकारी एटमबम, हाइड्रोजन, न्युट्रनबम र अणु–प्रमाणु अस्त्र तथा क्षेप्यास्त्र आदि हतियारको उत्पादन र बिक्रीले गर्दा पनि विश्वमा समय–समयमा विपदको स्थिति उत्पन्न भएको छ । विपद निम्तिनुमा मानिसमा रहेको लोभ र मोह मुख्य रहेका छन् । हिंसा नै अशान्तिको कारण भएको भनी गौतमबुद्धले परिभाषित गरेका छन् । ‘नहि वेरेन वेरानि सम्मन्तीध कुदाचनं । अवेरेन च सम्मन्ति एस धम्मे सनन्तनो । ’ यस संसारमा बहिरभावले कहिल्यै शान्ति हुँदैन । मैत्रीभाव र व्यवहारले मात्र समाजमा शान्ति आउन सक्दछ । बुद्धको यो भनाइलाई आत्मसात् गरी अगाडि बढ्ने हो भने पनि अवाञ्छित मानवीय क्रियाकलापले निम्तिन सक्ने विपदबाट जोगिन सकिन्छ ।
बुद्धद्वारा प्रतिपादित चार आर्य सत्य– समाजमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारण हुन सक्छ र यसका उपाय छन् । दुःख निवारण हुने उपायहरुमा आर्य अष्टाङ्ग मार्ग– सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक समाधि पर्दछन् । यसलाई जीवन दर्शन र पद्धतिको रुपमा आत्मसात् गरी अगाडि बढेमा धेरै प्रकारका विपदबाट जोगिन मद्दत पुग्दछ ।

मैत्री, करुणा, मुदिता र उपेक्षाजस्ता बुद्धका विचारलाई आत्मसात् गरी सामाजिक जीवनमा प्रयोग गर्न सकेमा विश्वमा मानिसबाट हुने आणविक हातहतियारहरुको प्रयोग घटाउन र हटाउन सकिने अवस्था रहन्छ । विपदबाट समाजलाई जोगाउन पनि सकिन्छ । मानव सभ्यताको विकाससंगै जीवनयापन र विकासको अभिन्न अंग बन्दै आएको सञ्चार क्षेत्रले विपदबाट जोगिन सक्ने खालका सूचना, सन्देश र ज्ञान मानव समुदायमा सम्प्रेषित गरी पूर्व सजगता हुनमा प्रेरित गर्न सक्नुपर्छ । साथै विपद आइपरेको अवस्थामा त्यसबाट कसरी जोगिने भन्ने सन्देश प्रवाह गरी राज्य, सरकार एवं नागरिक समाजलाई जागरुक र दवावमुलक भूमिका निर्वाह गर्न सक्दछ । त्यसैले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको विकाससंगै सञ्चारका विभिन्न माध्यमहरुमार्फत विपद पत्रकारितालाई एउटा महत्वपूर्ण विटको रुपमा विकास गर्नु आवश्यक देखिन्छ ।

विपदमा लुम्बिनी प्रदेश
प्राकृतिक रुपमा लुम्बिनी प्रदेश नेपालकै झल्को दिने विविधताले युक्त छ । भौगोलिक र प्राकृतिक संरचनाले यो प्रदेश तराई, पहाड र हिमाल मिलेर बनेको छ । २२ हजार २ सय ८८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो प्रदेशमा १२ जिल्लाहरु रहेका छन् । नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तराईका जिल्लाहरु हुन् भने पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूूठान र रोल्पा पहाडी जिल्लामा र पूर्वी रुकुम जिल्लाको अधिकांश भूभाग हिमाली क्षेत्रमा पर्दछ ।२०६८ को जनगणना अनुसार लुम्बिनीमा ४४ लाख ६५ हजार १ सय ८५ जनसंख्या रहेको छ भने १ सय ९ स्थानीय तहहरु छन् । यसमध्ये ४ वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका एवं ७३ वटा गाउँपालिकाहरु रहेका छन् । नेपालका अन्य ठाउँमा देखापर्ने विपदहरु यो प्रदेशमा पनि देखा परेको पाइन्छ । मनसुनी वर्षा, कमजोर भौगर्भिक बनावट आदि कारणबाट मनसुनको समयमा बाढी, पहिरोलगायत अन्य पानीजन्य विपद्ले ठूलो जनधनको क्षति हुने गरेको छ । पहाडका फेदीहरू र तराईमा जलाधार क्षेत्रबाट बगेर आएको बालुवा तथा गेग्रान थुप्रिनाले वस्ती र कृषियोग्य जमिन नष्ट भइरहेको छ । पहाडका बेसी, भित्री मधेश तथा तराई क्षेत्रमा नदी किनारा कटान तथा डुवानको समस्या बर्षेनी बढ्दोक्रममा छ ।लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान र रोल्पामा पहिरोको जोखिम बढी देखिन्छ । रुकुुम पूर्वमा पहिरोसँगै हिमपातको पनि समस्या छ । बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लाहरुमा बाढी र डुवानको उच्च जोखिम देखिन्छ । यसका अतिरिक्त भूूकम्प, अन्य विभिन्न रोगहरुको प्रकोपको जोखिम पनि यहाँ छ । जलवायू परिवर्तनले वातावरण प्रदुुषण पनि दिन प्रतिदिन बढ्दो छ ।

विपद जोखिम न्यूूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि अनावृष्टि, पानी, बाढी, पहिरो, आधी हुरी, शीतलहर, कुहिरो, हुस्सु, खडेरी, भूकम्प, ज्वालामुखी, तातो हावा, चट्याङ, भूू–स्खलन आदि प्राकृतिक विपदहरु हुन् । गैर प्राकृतिक विपदमा महामारी, अनिकाल, जीवाणु आतङ्क, विकिरण, हवाई, खानी, सडक, जल, तथा औद्योगिक दुर्घटना, विषाक्त ग्याँस, विषाक्त खाद्यान्न, वातावरणीय प्रदूषण, वन विनाश, पशु तथा चराचुरुङगीमा लाग्ने फ्लुलगायतका विपदजन्य समस्याहरू छन् । यो बाहेक पनि विगत दुई वर्षदेखि कोरोना भाइरस (कोभिड–१९) विपदको सामना नेपालीहरुले गरिरहेका छन् । लुम्बिनी प्रदेशमा यी सबै खालका विपदहरुको समस्या देखा परेको छ ।
विपद्लाई सरल रुपमा बुुझ्दा यो मानवीय नियन्त्रणभन्दा बाहिर अर्थात प्रतिकूल अवस्था हो । भौगोलिक विविधता, भू–वनोट तथा जलवायुको विविधताका कारण लुम्बिनी प्रदेशमा विभिन्न विपदहरुको जोखिम देखिन्छ । प्रदेश सरकाले तयार पारेको मनसुुनी पूर्व तयारी तथा कार्ययोजना २०७८ अनुुसार विगत १० वर्षमा अर्थात २०६८ देखि २०७७ सम्ममा २ सय ५५ वटा बाढीका घटनाहरु भएका र यसबाट १ सय ८२ जना मानिसको मृत्यु भएको, ३७ जना घाईते र ८६ जना वेपत्ता भएको पाइन्छ । लुम्बिनीका पहाडी भेगमा पहिरोको जोखिम प्रत्येक वर्ष बढ्दोक्रममा छ । विपद पोर्टलका अनुसार वि. सं. २०६८ देखि २०७७ सम्मको तथ्यांकलाई हेर्दा लुम्बिनीमा २ सय ७४ वटा पहिरोको घटना भएका छन् । यो घटनामा परी २ सय १६ जनाको मृत्यु भएको छ । यसका साथै मनसुनका बेला पानी र जीवाणुबाट संक्रमण हुने रोगका कारण वर्षेनी धेरैको ज्यान जाने गरेको छ । मनसुनको समयमा झाडापखाला, हैजा, प्लेग, डेंगु, इन्फुलुएन्जा, फ्लुलगायतका रोगहरूले महामारीको रूप लिदा समस्या उत्पन्न हुने गरेको छ । डेङ्गु, कालाजार, झाडापखालाजस्ता पानीबाट हुने रोगहरू र सर्पदंशका कारण वर्षेनी ठूलो मानवीय क्षती हुने गरेको छ ।कोभिड ः कोभिड– १९ ले विश्वाई नै आतंकित र त्रसित बनाएको छ । लुम्बिनी प्रदेश पनि यो दुई वर्ष (सन् २०२०–२०२१) निकै प्रभावित बन्यो । बाढीको अत्यधिक जोखिम रहेको तराईका जिल्ला नै कोभिड – १९ बाट पनि निकै प्रभावित बने ।

विपदमा सञ्चारः

लुम्बिनी प्रदेश सञ्चार माध्यममा संघीय राजधानी काठमाडौं पछिको मुख्य केन्द्र हो । बुुटवल, नेपालगञ्ज, भैरहवा, तानसेन, दाङलगायतका ठाउँहरु पत्रकारिताका लागि उर्वर क्षेत्र पनि हुन् । लुम्बिनी प्रदेशमा सञ्चार गृहहरु स्थापना हुने क्रम बढ्दो पनि छ । एफ.एम., रेडियो करिव एक सयको हारहारीमा छन् । दैनिक, साप्ताहिक, पाक्षिक, अर्धपाक्षिक, मासिकसहितका पत्रपत्रिकाको संख्या ३ सय ८४ वटा रहेका छन् । टेलिभिजन एक दर्जन तथा दर्ता नै भएर सञ्चालन भएका दुई दर्जन भन्दा बढी अनलाईनहरु छन् ।

मिडियाको प्राथमिकतामा विपद

विपदको बेला आम मानिसलाई बचाउनुु नै ठूूलो काम हो । जब विपद् हुन्छ, तब पत्रकारिता र सञ्चारजगतले जीवन बचाउन सक्छ । विपदको बेला प्रभावित समुदायलाई सबैभन्दा महत्वपूर्ण कुरा भरपर्दो सूूचना नै हो । विपद प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न, राहात र पुनःस्थापनासँगै भरपर्दो सूूचना जरुरत पर्छ । तसर्थ विपदमा सञ्चारमाध्यम र पत्रकारिताले ठूूलो काम गर्न सक्छ । २०७२ सालमा भूूकम्प जाँदा होस् या त दुई वर्षयता कोभिड– १९ ले आम मानिसहरुलाई पारेको असरको सूचना सम्प्रेषण का सन्दर्भमा होस् । यी दुवै विपद्मा भरपर्दो सूूचनाकै खोजीमा समुदायहरु रहेको देखियो । बाढी, पहिरो, आगोलागीलगायतका अन्य विपदमा समेत नागरिकले सही र तथ्यपरक सूूचना नै खोजेको पाइयो ।
विपदका बेला समुदायसँग धेरै प्रश्नहरू हुन्छन्, जसको उत्तर मानिसहरूलाई आवश्यक हुन्छ, त्यो सूूचना ÷जानकारी समयमै प्रवाह गर्न सके त्यसले जीवन बचाउन, आघात कम गर्न, सहज रुपमा राहत वितरण गर्न तथा पुनर्वासको काम गर्न महत्वपूर्ण योगदान पुु¥याउछ । सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र नागरिक समाजबीच पुलको काम समेत सञ्चारले नै गराउन सक्छ । यसै कारण विश्वमै विपद् पत्रकारिताको महत्व दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।काठमाडौं बाहिरका सञ्चारमाध्यमहरु व्यवसायिक रुपमा अझै सबल हुन सकेका छैनन् र पत्रकारिताका आयामहरुलाई अझै पनि विशिष्टीकृत गर्न सकिएको अवस्था छैन । त्यसैले विपद् पत्रकारिता विट पत्रकारिताका रुपमा विकास हुन बाँकी नै छ । पत्रकारहरुको आफ्नै रुचि, योग्यता र लगावले मात्रै विट् पत्रकारिता गरेको पाईन्छ । तर, पत्रकारहरुले विट् भनेपनि सबैजसो बिषयमा कलम चलाउनुुपर्छ । विपद्का विषयहरु स्वभाविक रुपमा समाजका आम मानिसको दैनिकीसँग जोडिएकाले प्राथमिकतामा परेको छ । यद्यपि यसको प्राथमिकता घटना प्रधानमा अलि बढी केन्द्रित छ ।कोभिड – १९ को समयमा स्वभाविक रुपमा विश्वकै ध्यान यही विषयले तानेकाले सञ्चारमाध्यम पनि यसैमा बढी केन्द्रित भए । बाढी र पहिरोको समस्या पनि यो पछिल्लो दुई वर्षमा अलि बढी नै देखिएकाले लुम्बिनीका सञ्चारमाध्यम र पत्रकारहरुले विपद्का विषय उठाउन कन्जुस्याँई गरेका छैनन् । वातावरण, जलवायू परिर्वतन, चुरे संरक्षण, नदी दोहनका विषयमा फ्लोअप सहितका समाचार आइरहेका छन् । घटनाभएपछि त्यसको खोजीनीति अलि बढी गर्ने परिपाटी देखिन्छ । यसमा मूल रुपमा विपदको पूर्वतयारी र सचेतना जगाउने गरी समाचार प्रकाशन÷प्रसारणमा ध्यान दिन जरुरी छ ।

विपदजन्य घटनामा यहाँका मिडियाहरुको निकै संवेदनशीलता देखिन्छ । पछिल्लो समय कपिलवस्तुमा झाडापखलाको प्रकोप फैलियो । यसको सचेतना जगाउन स्थानीय एफ.एम.ले सन्देश र सूचना प्रसारणमा निकै ठूलो भूमिका खेलेका छन् । त्यस्तै छापा, टेलिभिजन, अनलाईन सबैले यो विषयलाई प्राथमिकता राखे । बुटवलको चुरेमा गएको पहिरो, चुरे क्षेत्रमा भइरहेका दोहन, नदीजन्य पदार्थको मनपरी उत्खनन्, मानवीय कारणले बढ्दै गएको प्रदूषणजस्ता विषयलाई यस क्षेत्रका सञ्चार माध्यमले महत्वका साथ उजागर गरेका छन् । पत्रकारिता आफैंमा नागरिक केन्द्रित हुनुपर्ने भएकाले यसतर्फ सचेत र सजग हुन जरुरी छ । पत्रकारिताको आवश्यकता विपदकै बेलामा बढी हुन्छ । तसर्थ सञ्चारगृहहरुले यो विषय प्राथमिकतामा पार्नुपर्छ । यसका साथै विपद् पत्रकारितालाई विशिष्टीकृत बनाउनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पत्रकारहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन जरुरी छ । पत्रकारिता निरन्तर सिकाइको पेशा हो । यसले जहिले पनि समाजकै हितका लागि काम गरेको हुन्छ र गर्नुपर्दछ ।
( डा.चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि( पीएच्डी) उपाधि हासिल गर्नु भएको छ । )