थेग्न नसकिने स्याङ्जाका प्रशासनमा सेवाग्राहीको भिड

प्रकाशित मिति:

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको चाप निकै बढेको छ । सेवाग्राहीको चाप बढेपछि अहिले जिल्ला प्रशासन र इलाका प्रशासनका कर्मचारीलाई सेवा दिन भ्याईनभ्याई भएको छ । दैनिक सेवाग्राहीको चाप बढेपछि प्रशासनले कार्यालय समय भन्दा अबेर सम्म समय खर्चेर सेवा दिन बाध्यकारी बनेको छ । यो सेवा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ बाध्यकारी बनेको हो ।

मतदाता नामावली, राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता अनिबार्य हुने भएपछि अहिले जिल्लाका दुई प्रशासन कार्यालयमा थेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लागेको छ । जिल्ला प्रशासन भन्दा पनि इलाका प्रशासनमा अझ बढी सेवाग्राहीको चाप देखिएको छ । एक सातामा मात्रै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट ७ सय ५८ जनाले नागरिकता लिएका छन् । दैनिक २० देखि ३० ओटा सम्म वितरण हुदै आएको नागरिकता यो साता दैनिक झण्डै १ सय देखि १ सय ५० सम्म पुग्ने गरेको तथ्याङ्क छ ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले सबै स्थानीयतहमा मतदाता नामावली संकलनका लागि पठाएको थियो । तर सबै नागरिकले स्थानीयतहमा मतदाता नामावलीमा फोटो नखिचाएपछि अहिले जिल्ला प्रशासन र इलाका प्रशासनमा कार्यालयले सो सुविधा उपलब्ध गराउदै आएको छ । जसले गर्दा दुवै प्रशासनमा अहिले मतदाता नामावलीमा फोटो खिचाउने नागरिकको भिड लाग्ने गरेको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बरालले बताए । इलाका प्रशासनको कार्यक्षेत्र बढी छ प्रमुख बरालले भने,‘प्रयाप्त दरवन्दीको अभाव र आफ्नै कार्यालयबाट सहज सेवा प्रवाह गर्न कठिनाई छ ।’ नगरपालिकाबाट कर्मचारी माग गरेर सेवा लिन आएका नागरिकको राती अवेर सम्म काम गरेर भएपनि सेवा दिएका छौं उनले भने । राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र नागरिकता एकै ठाउबाट वितरण गर्नुपर्ने अवस्थाले सेवाग्राहीको चाप बढेको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार एक सातामा १ हजार २ सय ४३ जनाले मतदाता नामावलीमा फोटो खिचाएको जनाएको छ । मतदाता नामावलीमा फोटो खिचाउने अभियान शुभारम्भ भएदेखि अहिले सम्म स्याङ्जामा ८ हजार १ सय ८१ जनाको नामावली संकलन भएको निर्वाचन कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीले बताए । मतादाता नामावली संकलन कार्यको निरन्तरता भएकाले अझै संख्या बढ्ने उनले बताए । ११ स्थानीयतह ९७ वडा रहेको स्याङ्जामा दुई ठाँउबाट नागरिकता वितरण हुदै आएको छ । सहज र प्रभावकारी सेवा प्रवाहमा कुनै कसुर बाँकी नराख्ने गरी सेवा दिन कर्मचारीलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी हरी प्रसाद शर्माले बताए । मुलुकमा निर्वाचन प्रक्रिया नजिक आएको हुदा सबै नागरिकलाई निर्वाचनमा सहभागी गराउनु पर्ने अवस्थाले गर्दा अहिले प्रशासनमा सेवाग्राहीको भिड लागेको उनले बताए ।