कांग्रेस महासमितिहरुलाई केही प्रश्न, केही आग्रह

२ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
0 Shares


चन्द्र केसी  \ महासमिति कैले ? भन्ने लगातारको ठुलो संघर्ष र आग्रहले परिणाम हासिल गरेको छ । नेतृत्वको छलकपट र बाहनाबाजिका विभिन्न चरण बाट गुज्रदैँ अर्को महाधिवेशनको छेउ आइपुगेर एतिका समय पछाडी महासमिति बैठकको साइत जुराईएको छ ।  महासमिति बैठकका लागी सरोकार वाला सबै कांग्रेस र कांग्रेसी हरुलाई बधाई तथा शुभकामना ! यदि नेतृत्वसंग यो कार्यकालभरी नै महासमिति नबोलाउने अभिष्ट थियो भने त्यो टरेको छ ।  गएको निर्वाचन एता पार्टीको प्रेत्येक पंक्ति निराशा र हतासाको झरिले रुझेको छ चुटिएको छ । तर नेतृत्व बेपरबाह छ गुट हरुको सम्बर्द्धन र प्रबर्द्धन मै मग्न छ मस्त छ । यो महासमिति बैठक नेतृत्व र पार्टीको हविगत बिच रहेको अन्तर र बेमेल लाई दिसाबोध गर्ने मञ्च बन्न सक्छकि सक्दैन ? पार्टी भित्रको लोकतन्त्रको अवस्था कस्तो छ ? समिक्षा भएर  करेक्सन हुन्छकि हुँदैन ? अहिलेका मुल प्रश्न यिनै हुन् । बैठकमा यिनै प्रश्नको उत्तर भेट्टाउनू महासमिति सदस्यहरुको अहम दायित्व हो । कांग्रेस लाई भोलिका दिनमा कुन गोरेटोमा कसरी यात्रा गराउने भन्ने सवाल महासमिति सदस्यहरु कुन मानसिकता सहित बैठकमा उपस्थित हुनेछन, हुँदैछन भन्ने कुराले निर्दिष्ट हुनेछ । महासमिति हरुले नेतृत्वको लाज-सरम लाई छोपीदिनेछनकि, प्रश्न गर्नेछन् ? नेतृत्वले जम्मागरेको फोहोरको ढंगुर लाई धोईपखालि गरिदिनेछन या त्यसबाट सिर्जित गन्धलाई उनिहरुकै नाकतिर फर्काइदिनेछन ?  कांग्रेसको राजनीतिमा महासमिति भन्दा बाहिरको पंक्तिमा धेरै ठुलो संख्या छ, लाखौंको संख्या छ । मेरो अनुमान छ, कांग्रेसको बर्तमान र भबिस्यको सन्दर्भमा त्यो पंक्तिले जति निस्वार्थ र आत्मीय चिन्ता बोकेकोछ, माथिल्लो पंक्तिमा प्रश्न गर्ने ठाउँहरु छन् ।   आउनुहोस्, कार्यकर्ताको त्यो विशाल पंक्तिको तर्फ बाट महासमिति सदस्यहरु समक्ष केहि प्रश्न राखौं केही आग्रह राखौं । तमाम कांग्रेसी कार्यकर्ता हरुको आवाज राखौं ।
अहिले हामी सबैको चासो र चिन्ताको विषय छ,
कांग्रेसले यो युगको सर्बश्रेष्ठ बैचारिक र सैद्धान्तिक पार्टीको रुपमा हैकम राख्दै आगामी निर्वाचन जितोस्, संसदमा आफ्नो गरिमा पुनः कायम गरोस् । सरकार निर्माण गरोस्, राष्ट्रिय राजनीतिमा आफ्नो बर्चस्व पुनर्स्थापित गरोस् । देशलाई तमाम दुर्भाग्य हरुबाट बाहिर निकालोस् । यी सबै कुराका लागी अपेक्षा या प्रार्थनाले पुग्दैन, पार्टी बलियो र काबिल ‘फर्म’ मा हुनुपर्छ । यसका लागी प्रयत्न चाहिन्छ । पार्टी लाई आन्तरिक कमजोरी हरुबाट मुक्त गर्ने प्रयत्न । जब कांग्रेस आन्तरिक कमजोरी हरुबाट मुक्त हुन्छ तब मात्र देशलाई मार्गनिर्देश गर्ने अबस्थाका लागी हामी आशा गर्न सक्छौं, विमर्श गर्न सक्छौं। पार्टी आन्तरिक कमजोरी हरुबाट तब मुक्त हुनेछ, जब कुनै गुट कुनै नेता नभनी कार्यकर्ताहरु भक्ती चेतले नभएर बिद्रोहि चेतले निर्देशीत हुनेछौं । सत्य र असत्य, असल र खराब, राम्रो र नराम्रो बिचको भिन्नता देख्नेछौं, सुन्नेछौं र बोल्नेछौं । गुटका लागी काम गरेर, एक नेताका लागी काम गरेर अब पार्टी बन्दैन, बदलिँदैन । सिङ्गो पार्टीका लागी, सिद्धान्तका लागी, बिचारका लागी, बिधि र प्रक्रियाका लागी,  कार्ययकर्ताको पंक्ति तयार हुनुपर्दछ । के त्यसो भए महासमितिमा उपस्थित हुँदैगर्दा महासमितिहरु सिङ्गो पार्टीका लागी, सिद्धान्तका लागी, बिचारका लागी, बिधि र प्रक्रियाका लागी, सत्यका लागी बोल्न र काम गर्न तयार हुनुहुन्छ त ? यदि, कांग्रेसको माया छ भने अब समय छैन एक नेता, एक गुट भन्दा माथी उठ्नैपर्ने छ, उठ्नुहोस् । सबैको प्रयत्नमा कांग्रेसलाई बदलौं । यो समय सबै लोभ हरुबाट मुक्त भएर एकपटक पार्टीका लागी सोचौं । मुल्य र मान्यता हरुको पक्षमा उभिँऔं । पार्टी भित्रैको लोकतन्त्र खोजौं । पार्टी भित्रैको समाजवाद खोजौं । हिजोका दिन नेतृत्वको प्रत्येक बेकुफीमा कार्यकर्ताको समर्पणबादले आज कांग्रेस गतिहीन भएको हो ।
 
पार्टी नेतृत्वको मनोमानी शैली अहिलेको मात्र नभएर ०४८ साल एकाको लगातारको समस्या हो । नेतृत्वले आफूलाई सासक कार्यकर्ता र संगठन लाई दास देख्नु, विधि र प्रक्रियाको पटक-पटक उल्लङ्घन गरिरहनु, उपयुक्त बिधि-बिधानको निर्माण नगरिनु पार्टीका आन्तरिक बिसमताहरु हुन । यिनै कमजोरी हरुको कारण पार्टी गतिशील बन्न सकेन । पार्टीको पुरानै सोच, पुरानै सैली र परिपाटीले नयाँ पुस्तामा आकर्षण पैदा गर्नसकेन । सक्दैन पनि । बिगतमा नेतृत्वको मनपरितन्त्रले कार्यकर्ता समक्ष सामनै गर्न परेन । न कार्यकर्तानै जाग्ने काम भयो । बर्ष दिन यता पार्टी यति ठुलो चोटको आघातले छट्पटाई रहँदा नेतृत्व लाई हेर्यौं भने चरम निरासा र आक्रोश पैदा हुन्छ । निर्वाचन एताको यो एक बर्ष भित्रको बहस मात्र आफ्ना मान्छे कसरी ‘सेटल’ गर्ने, आफ्नो गुट कसरी बलियो राख्ने भन्नेमै केन्द्रित रह्यो ।  कसलाई उपसभापति, कसलाई महामन्त्री, कसलाई सहमहामन्त्री र को को केन्द्रिय सदस्य बन्ने, बनाउने  भन्ने विषयमै चिन्ता र चासो रह्यो । पार्टी कसरी बदल्ने, पार्टी किन कमजोर भयो भन्ने विषयमा कुनै गहिरो खातिरदारी देखिएन । येसरी पार्टीको विषयमा नभएर ब्यक्तिको विषयमा चासो र चिन्ता लिएर पार्टीको पुनः निर्माण बिल्कुल असम्भव छ । आखिर पार्टी बलियो भएन यी सबै कुराहरुको अर्थ छ । त्यसैले, ब्यक्ति बलियो हुने कि पार्टी ? नेता बलियो हुने कि पार्टी ? कमजोर पार्टीमा ब्यक्ति बलियो भएर सकारात्मक बदलाब आएको उदाहरण संसारमा कहिँकतै छैन । त्यसैले कांग्रेसमा आजको पहिलो सर्त हो पार्टी बलियो बनाउने अभियान । पार्टी बलियो भए हामी सबै त्यसै बलियो हुनेछौं । कुनै ‘पोजिसन’ किन चाहियो ? यो गुरुमन्त्र बुझ्न र महसुस गर्न ढिलो गर्यौं भने, हेक्का रहोस् आगामी दिनमा हामी कांग्रेसीहरु झनै टिठलाग्दा भएर जानेछौं ।
पार्टीको प्रणालीगत सुधारको बिन्दु बाट कांग्रेस रुपान्तरणको गृहकार्य ज्यादा ब्यबहारिक हुन्छ । संगठन निर्माणको बिधि र प्रक्रियाको सुधारले मात्र कांग्रेस सुधारको जग निर्माण हुन्छ । आलेखमा पार्टीको राजनीतिक, आर्थिक र सामाजिक उदेश्य  र एजेन्डा हरुको सन्दर्भमा मौन रहने छु । संगठन निर्माणको संरचना बास्तबिक लोकतान्त्रिक र पारदर्शी हुनेगरी बिधानको संसोधन भएर पार्टी प्रणालीगत हिसाबमा सुदृढ भएर आओस्, महासमिति हरु बैठकमा नेतृत्वको नालायकी र कमजोरीहरु माथी आँखा चिम्लिदिएर घर नफर्किउन, नेतृत्वका गलत काम हरुका लागी, गलत निर्णय हरुका लागी सबै सदस्य हरुबाट एक स्वर र एक लयमा औंला उठोस् ।बैठकमा जोड-जोड ढंगले नेतृत्वको दादागिरी माथी खबरदारी पैदा होस् । आलेख मार्फत ‘ईन्करेज’ गर्न चाहेको पक्ष यति हो । र, यो देशैभरिका आम कांग्रेस कार्यकर्ता हरुको चाहना हो । यो आलेख लेख्दै गर्दा मलाई एउटा कुराकोभने रतिभर भ्रम छैन । महासमिति बैठक पार्टीका सबै पक्ष हरुमा पुर्ण हित हुनेगरी टुंगिनेछ भनेर । महासमिति भन्दा अगाडी नेतृत्व बाट भएका छलफल-बहस हरुले नै त्यो कुरा प्रमाणित भैसकेको छ । गुट बलियो र कम्जोर हुने आंकलन र अनुमानको आधारमा मात्र बिधान परिबर्तनको उदेश्य रहनुले यो कर्मकाण्डि मात्रै हुनेछ भन्नलाई धेरै घोत्लिँनु नै पर्दैन । तथापि, सत्य र अहिलेको सन्दर्भको पक्षमा अब पनि नबोले, अहिले पनि नबोले कहिले बोल्ने ? कम्तीमा अहिलेको आवाजले भोलिको सुनौलो बिहानीका लागी बाताबरण बन्नेछ । अनि विवेकि र सचेत कार्यकर्ता हुनुको औचित्य पनि ।  अस्ति बिहिवार पार्टी कार्यालय सानेपामा सभापति र वरिष्ठ नेता बीचको सबालजवाफका समाचारहरु मिडिया मार्फत सुनियो । समाचार अनुसार वरिष्ठ नेताको सबालको प्रतिउत्तरमा सभापतिले ‘आफू चुनाव जितेर आएको र फेरिपनी जितेर आउने’ भन्नूभएछ । कति सरमको कुरा हो यो ? खै पार्टीलाई जिताउने कुरा ? खै पार्टी हारको पीडाबोधो ? के अब कांग्रेसको पार्टी सभापतिले आफुले चुनाव जित्नुले मात्र सबै दायित्व पूराहुने दिनमा आइपुगेका हौं ? कांग्रेस सभापति हुनुको गरिमा, पराक्रम र प्रतिष्ठा यतिनै हो अब ? कांग्रेसका लागी यहाँ भन्दा बदनाम अवस्था केहुन्छ अर्को ? प्रश्न वरिष्ठ नेतालाई पनि, तपाईले कांग्रेसको राजनीतिमा अहिले सम्म के पाउनु भएको थिएन ? लगातार तीस बर्ष पार्टी र सत्ताको शीर्ष स्थानमा बसेर आफ्नो एउटा निर्वाचन क्षेत्रलाईत बनाउन सक्नुभएको रहेन रहेछ अनि देश कुन कारण बनाउन सक्नुहुन्छ र नेतृत्वका लागी तपाईं लाई कार्यकर्ताले पात्याउनु पर्ने ?
महासमितिज्युहरु
के कांग्रेस साँचो अर्थमै मास बेस्ड छत ? के एउटै ब्यक्ति पटक पटक नेतृत्वमै रहन पाउने पद्धति आजको युगले स्विकार्न सक्ने पक्ष हो ? के नेतृत्वको निश्चित कार्यकाल पछाडी बहिरगमनको ब्यबस्था जरुरी छैन ? के पार्टीको बिफलता संग नेतृत्वमा बस्नेको जवाफदेहीता रहनुपर्ने ब्यबस्थाको जरुरी छैन ? के आजको दिन असल, योग्य र होनहार हरुका लागी पार्टीको ढोका तत्काल सहज र सरल हुनु जरुरी छैन ? के कार्यकर्ता हरुको परिचालन, सुरक्षा, मुल्यांकन र उचित जिम्मेवारीको सन्दर्भमा ठोस र औपचारिक उत्तरदायित्व लिनुपर्ने ब्यबस्थाको अपरिहार्यता छैन ? के न्यायोचित चक्र बाट दुख गरेका सबैलाई लाभको पद वितरण हुनुपर्ने पद्धतिको खाँचो छैन ? पार्टीको बिधानले नेतृत्व र संगठनको मार्गमा के बोलेको छ ? हालको बिधानले अहिलेको समयको सन्दर्भमा के कति स्विकार्यता राख्दछ ? के नेतृत्वले विधि र प्रक्रियाको मजबुत ढंगले पालना नगर्नुले पार्टी लाई नोक्सानी सिबाय केहि प्राप्त भएकोछर ? आदि प्रश्न हरुको उत्तर नै नखोजी कांग्रेस लाई नवजीवन दिने या पुनर्निर्माण गर्ने भन्नू ढाट्नु र छल्नु मात्र हो । के महासमितिज्युहरु यी मुद्धा हरुको पक्षमा उभिन तयार हुनुहुन्छ ? यी मुद्धा हरुलाई बैठकमा बुलन्द गर्नुहोस् स्थापित गर्नुहोस् । पार्टी संचालन र निर्माणको सन्दर्भमा पार्टीको बिधान लाई परिमार्जन गरेर समयसापेक्ष नबनाउने होभने न नयाँ युग सुहाउँदो पार्टी हुनेछ, न नयाँ युगले नै पत्याउने पार्टी हुनेछ । कर्मकाण्डि फेरबदलले मात्र अब केही हुन्न । के गर्दा पार्टीको संरचना नदि जस्तो गतिशील बन्न सक्छ ? बग्न सक्छ ? यसको संगठन र शैली सधैं वेगको गतिमा तम्तयार रहन्छ ? यो उपायको खोजी पार्टीको प्रणालीगत सुधार बाट खोजिनु पर्दछ ।  बिधानको मौजुदा र जुन ढंगबाट बिधान परिमार्जन हुन खोज्दैछ त्यस अबस्थामा कांग्रेस रुपान्तरणको पर्दा मात्रै पनि खुल्दैन । प्रणालीगत हिसाबमा आधुनिक ढाचा दिएर मात्र त्यो गन्तव्यको यात्रा सम्भब र सुनिस्चित हुनेछ । पार्टी मास बेस्ड हो र संगठन निर्माणको प्रणाली लोकतान्त्रिक छ भन्ने कुरामै कमजोरीहरु छन् । अहिले, स्थानीय स्तरमा अगुवा नेता हरुबाट आफ्नो लाभ-हानिको मुल्यांकन गरेर आफू अनुकुल र निश्चित ब्यक्तिलाई पार्टीको सदस्यता वितरण गरिन्छ । र, त्यसरी आफुले सदस्य बनाइएका आफ्ना मान्छे हरु बाट अधिबेशनमा समर्थन प्राप्त गरिन्छ । यस अर्थमा पार्टी कसरी मास बेस्ड भयो ? अनि नेतृत्व छनोटको पद्धति कसरी शुद्ध लोकतान्त्रिक रह्यो ? यो बिन्दु लाई केन्द्रमा राखेर पार्टीलाई प्रणालीगत त्रुटि बाट बाहिर निकाल्ने प्रतिबद्धता र तत्परताको खाँचो छ ।  नेपाली कांग्रेसको स्थापना अगाडी नेता बीपी कोइरालाले कांग्रेस पार्टी निर्माण र भुमिकाका लागी सार्बजनिक आव्हान गर्नुभएको थियो । त्यसैले कांग्रेस पार्टी गर्भमै आम नेपालीको बृहत चेतना, चाहना र आकांक्षाको सामुहिक उभारले निर्मित भएको हुनाले यो पुर्ण मास बेस्ड पार्टी हो । त्यसैले आजको दिन हामीले कांग्रेस सदस्य हुनका लागी किन कोहि कसैलाई विभिन्न बहानाबाजी गर्ने ? पार्टी हित बिपरित हुन नसक्ने केही उपयुक्त प्रणालीको छनोट गरि कांग्रेस सदस्य हुनका लागी किन सार्बजनिक अपिल नगर्ने ? लोकतन्त्रका मुल्य मान्यताको अपरिहार्यता के हो, कति रहेछ ? भन्नेकुरा अहिलेको लोकतान्त्रिकहौँ भन्ने तथाकथित अनुदार कम्युनिस्ट सरकारका कारण झनै नागरिक हरुलाई मससुस हुँदै छ । जानेको र बुजेको बर्गमा झनै यस कुराको मससुस हुनथालेको छ । यस अबस्थामा कांग्रेसले आफ्नो सदस्यता लाई झनै आम नागरिकको तहमा पुर्याउन जरुरी छ ।
पार्टीको माथिल्लो निकायले तल्लो निकायलाई नभएर तल्लो निकायले माथिल्लो निकायलाई नियन्त्रण र निर्देशनको परिपाटीले मात्र युग सापेक्ष लोकतान्त्रिक प्रणाली पुष्ट्याउछ । माथी केन्द्रलाई मात्र सर्बशक्तिमानको आशनमा राखीँदा नेतृत्वले मनलाग्दी जे-जे गरेपनी छुट पाएको छ ।  न बिधी- प्रक्रिया, न नियम-कानुन, न लाज-सरम । तल्लो संयन्त्र मार्फत अनुगमन र नियन्त्रणको अधिकार अभावमा नेतृत्व द्वारा नैतिकता, जिम्मेवारी, कर्तव्य, जवाफदेहीता जस्ता उच्च चारित्रिक गुणहरुको प्रदर्शन नै नहुने रै’छ । अब, मात्र सभा र बैठकहरुमा उपस्तिथ गराउनुले, धर्ना, जुलुस र नारा हरुका लागी प्रयोग गरिनुले, अरुबेला नोकर र दास लाग्ने निर्वाचनका बेला मात्र हितैसि लाग्नुले, अधिबेशनका विभिन्न चरणहरुमा सामेल गराउनुले मात्र कार्यकर्ताको परिभाषा लाई समेट्न सक्दैन । कार्यकर्ताको योग्यता र प्रतिष्ठा लाई कायम गर्न सक्दैन । सम्पुर्ण कार्यकर्ताले पार्टीको सम्पुर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष धारणा र सहभागीता राख्न पाउने ब्यबस्था गर्दै उन्नत लोकतान्त्रिक पद्धतिको बिकास गरिनु पर्दछ । कार्यकर्ताको तह लाई अधिकार सम्पन्न गराउन धेरैनै जरुरी छ । केन्द्रले टिकट वितरण गर्दा नेताहरु कार्यकर्ता, निर्वाचन क्षेत्र र नागरिक प्रती उत्तरदायी नै भएनन्, केन्द्रिय नेतामुखी भए । नेतृत्वको निर्णय र परिणामले पार्टीलाई नकारात्मक असर पर्न गएमा कार्यकर्ता बाट फिर्ता बोलाउन सकिने ब्यबस्थाले मात्र नेतृत्व उत्तरदायी र जिम्मेवार हुनेछ ।  सबै पदाधिकारीहरु निर्वाचन मार्फतै चुनिने ब्यबस्था किन कायम नगर्ने ? पदाधिकारीहरु मनोनयन गरिने ब्यबस्थाले अन्धभक्त हरुको मात्र उदय भयो, कुसल ब्यक्ति नेतृत्वमा पुग्ने सम्भावना रहेन । सातै प्रदेशमा पुर्ण र स्वतन्त्र कमान्ड सम्हाल्ने गरि संयोजक नभएर पार्टी प्रदेश अध्यक्ष या सभापति रहने ब्यबस्था गरिनु पर्दछ । एउटै ब्यक्ति पार्टी सभापति र पदाधिकारीमा अधिकतम दुई कार्यकाल सम्म मात्र योग्य रहने, केन्द्रिय सदस्य तीन कार्यकाल । प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री र संसद तीन कार्यकाल । समानुपातिक तर्फबाट मात्र एक कार्यकाल । दुई पटक संसदको उम्मेदवार भएर लगातार पराजित ब्यक्ति लाई पुन उम्मेदवार नदोहोर्‍याउने ब्यबस्था । पार्टी राजनीतिमा र नेतृत्वमा आउन र पुग्न चाहने हरुको सन्दर्भमा अहिलेको ‘बटम अप’ को बाटो मात्र नभएर ‘टप डाउन’ ढोकाको पनि सुबिधा । पार्टी सरकारमा रहँदा गरिने साना देखी ठुला सबै तहका राजनीतिक नियुक्ति र सिफारिसहरु आन्तरिक पार्टीमा अधिकतम छलफल पछाडि संस्थागत निर्णय हुनैपर्ने ब्यबस्था । उल्लेखित सर्त बमोजिम बिधान संसोधन हुनसके  पार्टी गतिहीनता बाट निस्कने छ । सबैले भबिस्य देख्न सक्ने पार्टी बन्ने छ । नयाँ, योग्य, होनहार र ईमान-जमान भएका हरुले पार्टीमा पाइला राख्ने बाताबरण बन्ने छ, पाइला राख्ने छन् । कांग्रेस पुनः निर्माणको जग बस्ने छ । बाकीकुरा त पार्टीको आर्थिक, सामाजिक र राजनीतिक एजेन्डाले नागरिकमा आकर्षण पैदा गर्नेहो, त्यसका लागी समय छ । देशैभरिका आम कांग्रेस कार्यकर्ता हरुको अपेक्षा छ, आग्रह छ महासमितिहरु विवेकको बन्धक बन्ने छैनन्, ‘यसम्यान’ बन्ने छैनन् ।  धन्यवाद ! जयनेपाल !

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…