ए डिभिजन लिग : आठौं चरणको विशेषता

प्रकाशित मिति:

२७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आठौं चरणसम्मको खेल सकिएको छ । म्याच विक एटका खेलहरू सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब र सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब उपाधिको मुख्य दाबेदारको रुपमा अगाडि देखिएको छ ।

तेस्रो स्थानको संकटा बराबरीमा रोकिँदा मछिन्द्र र मनाङ उपाधिबीच उपाधि होड देखिएको छ । आठौं चरणमा संकटाले लगातार बराबरी खेल्दा आर्मी र थ्रीस्टारले जीत हात पारे ।

पोखरामा मनाङको अन्तिम खेल र चर्चा

आठौं चरणमा पोखरामा भएको एउटै खेलमा धेरै अर्थमा चर्चित बन्यो । मनाङ मर्स्याङ्दीले च्यासल युथ क्लबलाई ५-० ले हराउँदै सिजनको छैटौं जीत आत्मसाथ गर्‍यो । यसमा नाइजेरियन खेलाडी ओलावालखेले ह्याट्रिक गरे ।

यस सिजन यो सबैभन्दा ठूलो अन्तरको जीत हार बन्यो । अनि ओलावाले ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । दुवै विदेशी नै हुन् । यसअघि सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले एपीएफविरुद्ध तेस्रो चरणको खेलमा ह्याट्रिक गरेका थिए ।

अखिल नेपाल फुटबल संघ एन्फाले यही सिजनबाट ए डिभिजन लिगका खेलहरू काठमाडौं बाहिर लगेको थियो । त्यमसा होम ग्राउण्डमा लिग खेल्ने मनाङ भाग्यमानी टिम बन्यो । यसअघि पोखरा रंगशालमा दुई खेल खेलिसकेको मनाङले च्यासलविरुद्ध यस सिजन होम ग्राउण्डमा अन्तिम खेल्दै सानदार नतिजा निकाल्यो ।

मनाङले पाँचौ चरणमा नेपाल पुलिसलाई ३-१ ले र सातौं चरणमा ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको थियो । यस अर्थमा मनाङले होम ग्राउण्डको शतप्रतिशत जीतसहित ह्याट्रिक जीत हात पार्‍यो । कूल ९ गोल गर्दा जम्मा १ गोल मात्र खायो । त्यो पनि पुलिसका सुमन लामाले पेनाल्टीमा गरेका थिए ।

कप्तान अन्जन विष्टले पनि पोखरामै पुगेर गोलको खाता खोले । उनले पुलिसविरुद्ध दुई गोल गर्दा ब्रिगेडविरुद्धको जीतमा निर्णायक गोल गरेका थिए । ओलावाले पनि पोखरामै पुगेर ह्याट्रिक गरे । च्यासलविरुद्ध ह्याट्रिकपछि ओलावाको गोल संख्या ५ पुगेको छ र मछिन्द्रका सुनिल बलसँगै सर्वाधिक गोल गर्नेमा अघि छन् ।

यस खेलमा मनाङ घरेलु दर्शकको राम्रो साथसमेत पायो । मनाङ र च्यासलबीचको खेलमा अर्को चर्चाको विषय बन्यो, प्रशिक्षकलाई रातो कार्ड । आठौं चरणसम्म जम्मा एक खेलाडीले रातो कार्ड पाएका छन् । तर, यस खेलमा च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले नै रातो कार्ड पाए । रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै प्रशिक्षक साहुखललाई रेफ्री श्याम दनुवारले दोस्रो हाफमा रातो कार्ड देखाएका थिए ।

मछिन्द्र भाग्यमानी

साविक विजेता मछिन्द्रले आठौं चरणसम्म अपराजित यात्रा कायम राख्दै उपाधि रक्षाको होडलाई कायम राखेको छ । सातौं चरणमा नेपाल पुलिसलाई हराएर एएफसी कपमा छनोट भइसकेको मछिन्द्रले आठौं चरणमा फ्रेण्ड्सलाई १-० ले हराउँदा आत्मघाती गोल उपहार पायो । एक अर्थमा मछिन्द्र भाग्यमानी नै बन्यो । रेलिगेसन जोनमा रहेको फ्रेण्ड्सविरुद्ध मछिन्द्रको खेल वाह गर्न लायक थिएन । अर्थात् च्याम्पियन टिमले खेलेजस्तो थिएन । तर, भाग्यमानी बन्दा मछिन्द्रले ३ अंक जोड्न सफल भयो ।

८ खेलबाट २० अंक जोडेर मछिन्द्र शीर्षस्थानमै छ । मछिन्द्रसँगै अपराजित रहने अन्य दुई टिममा संकटा र आर्मी छन् । आर्मीले आठौं चरणमा एनआरटीलाई १-० ले हराउँदा संकटा भने सातदोबाटोसंग १-१ को बराबरीमै रोकियो । संकटा र आर्मीको समान १४ अंक छ । तर, गोलअन्तरमा अघि रहेको संकटा तेस्रो स्थानमा छ भने आर्मी चौथो स्थानमा छ ।

फ्रेण्ड्सको संकट

यस सिजन ए डिभिजन लिगमा आठौं चरणसम्म पनि जीतविहिन रहेको टिम हो फ्रेण्ड्स । साविक विजेता मछिन्द्रविरुद्ध राम्रो प्रदर्शन गरे पनि फ्रेण्ड्सले अंक जोड्न सकेन । आफ्नै खेलाडीले आत्मघाती गोल गर्दा फ्रेण्ड्स १-० ले पराजित भयो । जारी लिगमा फ्रेण्ड्सको यो पाँचौ हार हो ।

८ मध्ये ३ खेल मात्र बराबरी खेलेको फ्रेण्ड्स ३ अंकसहित अंकतालिकामा पुछारमा छ । एक खेल पनि जीत्न नसकेको फ्रेण्ड्सलाई रेलिगेसनको खतरासमेत बढेको छ । अब ५ खेल मात्र खेल्न बाँकी रहेकोले रेलिगेसन जोगिन कम्तीमा पनि ३ खेल जीत्नैपर्ने फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले बताएका छन् ।

दुई आत्मघाती गोल

आठौं चरणमा दुई आत्मघाती गोल भए । लिग लिडर मछिन्द्रले पुछारको फ्रेण्ड्सलाई १-० ले पराजित गर्दा आत्मघाती गोल उपहार पाएको थियो । फ्रेण्ड्सका रोनेल एन्थोनी पउलले आत्मघाती गोल गरेका थिए ।

यस्तै थ्री स्टारले हिमालयन शेर्पालाई २-० ले पराजित गर्दा शेर्पाका अमृत श्रेष्ठले पनि आत्मघाती गोल गरे ।

आठौं चरणको खेलको नतिजा

संकटा १-१ सातदोबाटो

एपीएफ ०-० जावलाखेल

मछिन्द्र १-० फ्रेण्ड्स

मनाङ ५-० च्यासल

एनआरटी ०-१ आर्मी

थ्रीस्टार २-० हिमालयन शेर्पा

पुलिस १-१ ब्रिगेड

आठौं चरणको खेलको गोलकर्ता

सुशिल राई, सातदोबाटो

जय गुरुङ, संकटा

रोनेल एन्थोनी पउल, फ्रेण्ड्स (मछिन्द्रविरुद्ध आत्मघाती)

आफिज ओलावले ३ गोल, एडेलाजा सोमिडे १, दिनेश राजवंशी १, मनाङ

दिनेश हेन्जन, आर्मी

घानेफो अंशुमाना क्रोमाह, थ्री स्टार

अमृत श्रेष्ठ, हिमालयन शेर्पा ( थ्री स्टारविरुद्ध आत्मघाती गोल)

रोशन राना मगर, ब्रिगेड

बुद्ध तामाङ, पुलिस