लायन्स देउरालीद्वारा खाना र न्यानो कपडा वितरण

प्रकाशित मिति:

बुटवल, २८ पुस । लायन्स क्लबका जन्मदाता मेल्भिन जोनको १४३ औं जन्म जयन्तीको अवसरमा लायन्स क्लब अफ बुटवल देउरालीले दुईवटा सामाजिक काम गरेको छ । मेल्भिन जोन सेवा सप्ताह अन्तर्गत क्लबले मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको छ । क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आश्रममा आश्रित १२० जनालाई बिहानको खाना खुवाइएको हो ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ,डिस्ट्रिक्ट डेपुटी चिफ सन्दीप कसौधन र गणेश प्रसाद भट्टराई, एरिया ४ का एरिया चिफ जीवन गौतम, एक्टेन्सन चेयरपर्सन भोजराज पाण्डे, मानव सेवा आश्रमका अभिभावक शेर बहादुर गौतम लगायतले बोल्दै क्लबले गरेको कामको सराहना गरेका थिए । क्लबका सदस्य अर्जुन पाण्डेले आफ्नो जन्मदिनको अवसरमा आफ्ना स्वर्गीय पिता भविश्वर पाण्डेको स्मरणमा कार्यक्रमको सम्पुर्ण खर्च सौजन्य गरेका थिए । कार्यक्रमको संयोजन मनिराम पौडेलले गरेका थिए ।
यस्तै क्लबले तिलोत्तमा नगरपालिका–६ बांसघारी टोलमा माई लायन्स भिलेज अन्तर्गत पर्ने सत्यलक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले शिशु कक्षा देखि कक्षा ५ सम्मका १०५ जना विद्यार्थीलाई स्वीटर बितरण गरेको क्लबका अध्यक्ष पौडेलले बताए । क्लबका द्वितीय उपाध्यक्ष दिपक पन्थीको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लबका चिफ डिस्ट्रिक्ट एडभाइजर उमंग देवकोटाले सामाजिक कामलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

न्यानो कपडा वितरण कार्यक्रममा कार्यक्रम संयोजक लालप्रसाद बस्यालले स्वागत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद पाठक र अभिभावक संघका अध्यक्ष पूर्णप्रसाद आचार्यले क्लबले वितरण गरेको नयानो कपडाले जाडो मौसममा विद्यार्थीलाई राहत पुगेको बताए ।