नेताहरू धमाधम कोरोना पोजेटिभ

प्रकाशित मिति:

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणको जोखिम उच्च रहेको औल्याउँदै २५ जनाभन्दा बढी एकैठाउँ भेला हुन नपाउने गरी व्यवस्थापन गर्न गत आइतबार गृह मन्त्रालयलाई सिफारिस गर्‍यो।तर त्यसको पर्सिपल्टै पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्म सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न ठूलो भिडभाडका साथ उपस्थित भए।राष्ट्रपति भण्डारीले त बीच सडकमै सलामीधरि लिइन्। पूर्वराजा पनि दंग पर्दै ठूलो भिडको हुटिङमा सरिक भए।

पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्ट ‘बिजुली गति’ मा समुदायमा फैलिरहेको छ। तर देशका उच्चपदस्थहरूले जनस्वास्थ्य मापदण्ड पालना गर्नमा हेलचेक्र्याइँ गरिरहेका छन्। राजनीतिक दलका शीर्ष नेताहरू नै यसबीच सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुने गरेका छन्।यसले जिम्मेवार व्यक्तिहरू महामारीको तेस्रो लहरलाई लिएर कति असंवेदनशील छन् भन्ने प्रस्ट देखाउँछ।संक्रमणको जोखिमबीच ठूल्ठूला राजनीतिक कार्यक्रमहरू आयोजना गर्नाले पछिल्लो समय धेरै नेता कोरोना संक्रमित भएका छन्। यसमा भर्खरै महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रका नेताहरू बढी छन्। उनीहरू एकैचोटि कोरोना संक्रमित हुनुमा महाधिवेशन क्रममा भएको भिडभाड नै मुख्य कारण देखिन्छ।सत्ता साझेदार माओवादी केन्द्रले गत पुस ११ देखि १८ गतेसम्म एक साता लामो महाधिवेशन गरेको थियो। त्यसपछि पुस १९ गते केन्द्रीय कमिटी बैठक बसेको थियो। जबकि, स्वास्थ्य मन्त्रालयले गत मंसिर २० गते नै नेपालमा ओमिक्रोन भेरियन्ट भित्रिएको आधिकारिक जानकारी दिएको थियो। यो भनेको नेपालमा तेस्रो लहर सुरू हुनसक्ने संकेत थियो।अन्य देशमा पनि पहिलोचोटि ओमिक्रोन भेरियन्ट फेला परेपछि एक महिनाभित्र संक्रमित संख्या ह्वात्तै बढेको पाइएको छ।

यस्तो अवस्थामा जनतालाई तेस्रो लहरको सम्भावनाप्रति सजग गराउनुपर्ने र आफू पनि सतर्क हुनुपर्ने नेताहरूले नै कोरोनालाई बेवास्ता गर्दै आएका छन्। तेस्रो लहरको तयारीमा जुट्नुपर्ने सत्तारूढ दलका नेताहरूले पनि भिडभाड गर्न कुनै कसर बाँकी राखेनन्। यसको एउटा उदाहरण माओवादी महाधिवेशन नै हो।महाधिवेशन क्रममा धेरै कार्यकर्ता भेला भए। ती कार्यकर्ताले मास्क नलगाउने र भौतिक दुरी कायम नगर्ने त अपेक्षित नै थियो। तर बन्दसत्रमा रहेका नेताहरूले पनि यस्ता स्वास्थ्य मापदण्ड पालना गरेनन्।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत मास्क प्रयोग गरेनन्। उद्घाटनसत्रमा मञ्चको बीचमा बसेका दाहालले मास्क लगाएनन्। उनीसँगै छेउमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने मास्क लगाएका थिए। लाइनमै रहेका अन्य दलहरूका शीर्षनेताहरूले पनि मास्क लगाएको देखिएन।विज्ञहरूका अनुसार बन्द कोठा वा हलमा एकैपटक धेरै मानिस जम्मा हुँदा त्यसबाट संक्रमणको जोखिम बढी हुन्छ। नभन्दै अहिले अध्यक्ष दाहालसहित नारायणकाजी श्रेष्ठ, मातृका यादव, चन्द्रप्रकाश खनाल, गणेश शाह, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत लगायतलाई कोरोना संक्रमण देखिएको छ। बस्नेत पत्नी एवं सांसद सत्या पहाडी कोरोना संक्रमित भएकी छन्। संक्रमण पुष्टि भएपछि अहिले यी नेताहरू आराम गरिरहेका छन्।माओवादी अध्यक्ष दाहाल संक्रमित भएपछि प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। जनस्वास्थ्य मापदण्डअनुसार ट्रेसिङमा परेका व्यक्तिहरू संक्रमणको शंका गरी कम्तीमा पाँच दिन एकान्तवास बस्नुपर्छ। तर देउवाले यसको वास्तै नगरी ट्रेसिङमा परेको भोलिपल्ट बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे।दाहालबाट देउवालाई कोरोना सरेको भए उनको हेलचेक्र्याइँबाट ओली पनि संक्रमित हुन सक्थे।

नेताहरूको बाक्लो भेटघाटबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भइसकेका छन्।उता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि गत आइतबार आफ्नो गृहजिल्ला झापामा एउटा पार्क उद्घाटन गर्न पुगे। उनी कार्यकर्ताहरूको भिडभाडबीच बग्गी चढेरै पार्क उद्घाटन गर्न गए। त्यो भिडमा रहेका अधिकांशले मास्क लगाएका थिएनन्।देशका शीर्षनेताहरूले नै जनस्वास्थ्य मापदण्ड पालना नगर्नाले महामारी बढाउने डाक्टर जागेश्वर गौतम बताउँछन्।स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका गौतमले बुधबार ट्वीटमा लेखेका छन्, ‘नेताहरूमा धमाधम कोरोना पोजेटिभ आउनुको मुख्य कारण जनस्वास्थ्यको मापदण्ड नअपनाउनु हो। यसले हाम्रा नेताहरू कोभिड(१९ प्रति कति सचेत छन्, आफू र जनताप्रति कति जिम्मेवार छन् भन्ने जनाउँछ। अहिले बाँचौं, राजनीति गर्दै गरौंला।’उनले नेताहरूले जनतालाई जनस्वास्थ्यको मापदण्ड पालना गराउन सिकाउनुको सट्टा उल्टै आफैं मापदण्ड उल्लंघन गर्दा त्यसले महामारी बढाउने जनाए। सेतोपाटीसँगको कुराकानीमा गौतमले भने, ‘एउटा त त्यति बेलै संक्रमण सरेर बढाउने भयो। अर्को अरू मानिसले पनि यसो गर्न मिल्ने रहेछ भनेर देखासिकी गर्ने भए। त्यसैले उहाँहरूले मापदण्ड राम्रोसँग पालना गर्नुपर्छ।’संक्रमण नियन्त्रण गर्ने हो भने पहिले सरकार नै गम्भीर हुनुपर्ने कुरा विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन्। सर्वसाधारणलाई नियम पालना गराउनुअघि सरकार आफैं नियममा बस्नुपर्ने उनीहरूले सुझाएका छन्। भिड लिएर बाहिर निस्कने नेताहरूले नागरिकलाई घरभित्रै बस भन्न सुहाउँदैन।अर्को कुरा, सरकारले आफू जनस्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने भोलि कुनै सर्वसाधारणले त्यो मापदण्ड पालना गरेन भने उसलाई कारबाही गर्ने आधार केरु जिल्ला प्रशासन कार्यलयहरूले बुधबारबाट २५ जनाभन्दा बढी मानिस एकैठाउँ भेला हुन रोक लगाइसकेको छ। यसको पालना सबभन्दा राजनीतिक दलहरूले नै गर्नुपर्नेछ।