सुनौली नाकाबाट स्पेयर पार्टसको अवैध आयात बढ्यो, राजस्वमै धक्का

प्रकाशित मिति:

नेपाल–भारत सीमा नाका सुनौलीबाट सवारीसाधनमा प्रयोग हुने पाटपुर्जा अवैध आयात दिनानुदिन बढ्दो छ । द्विदेशीय खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले रूपन्देहीस्थित सुनौली नाकालाई स्पेयर पार्टस अवैध आयात गर्ने थलो बनाएका हुन् । भन्सार विभाग र सुरक्षा निकायले आवश्यक कदम नचाल्दा राजस्व गुमिरहेको छ ।गाडीमा लाग्ने पार्टसहरू अधिकारिक रूपमा भित्र्याउँदा मूल्य अभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्छ । तर, केही महिनायता पाटपूर्जा अवैध आयात ह्वात्तै बढेको स्थानीय व्यापारीहरूले जानकारी दिएका छन् । नियामकले चासो नदिँदा दैनिक खपतको ६० प्रतिशतभन्दा बढी पार्टसहरू अवैध तवरले आयात भैइरहेको हो ।

अवैध आयात अहिले रूपन्देही, कपिलवस्तु र नवलपरासीसम्म विस्तार भइसकेको बुटवल मैनाबगरमा अटो पार्टसको व्यवसाय गरिरहेका कृष अटोमोबाइल संचालक सुरज रेश्मीमगरले जानकारी दिए । उनका अनुसार शुरू–शुरूमा सीमा आसपासमात्र यस्ता गतिविधि भएपनि हाल भारतसँगको सीमावर्ती जिल्लाका जताततै विस्तार भएको हो ।बुटवल इन्जिनियरिङ एसोसिएसनका उपाध्यक्ष बाबुराम आचार्यले बारम्बार जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चर्यजनक भएको बताए । उनले भने, ‘सरकारलाई दैनिक लाखौं रुपैयाँ नोक्सानी हुनु अन्ततः जनतालाई नै नोक्सानि हुनु हो ।’

गाडी घनि स्वयम्ले सीमा पारीका व्यापारीलाई सम्र्पक गर्ने र एजेन्टको सहयोगमा सेटिङ मिलाएर ग्यारेजमै पाटपूर्जा ल्याइदिने गरेका स्थानीय व्यवसायीहरू बताउँछन् । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरूको दाबी छ । केन्द्र सरकारले नै यस्तो गतिविधि नियन्त्रणतर्फ ठोस कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ ।