नेकपा स्थायी कमिटीको वैठक : सञ्चालन पद्धतिको खुलेर आलोचाना

प्रकाशित मिति:

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्। अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे। उनीहरुले विधानअनुसार तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्नेमा ६ महिनामा बसेको, स्थायी समितिबाट निर्णय गर्नुपर्ने विषयलाई सचिवालयबाटै निर्णय गराइएको जस्ता विषयमा असन्तुष्टि जनाएका थिए। उनीहरुले सरकारी तहमा भएका निर्णय विवादास्पद हुनुका साथै नियुक्ति, सरुवाजस्ता विषयमा सरकारी तहमा बिचौलिया हाबी भएका कारण सरकार बढी आलोचित भएको तथा सकारको कार्यशैलीमा देखिएका त्रुटि औल्याउँदा गाली खानुपर्ने स्थिति हुँदा सरकारको गति ठीक दिशातर्फ उन्मुख नभएको टिप्पणी पनि सदस्यहरुले बैठकमा गरेका थिए। बैठकमा प्रत्येक सदस्यलाई आफ्ना धारणा राख्न २० मिनेटको समय दिइएको थियो। धारणा राख्नेमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, घनश्याम भुसाल, बेदुराम भुसाल, गणेश साह, मुकुन्द न्यौपानेलगायत १० जना थिए। उनीहरुले पार्टी एकीकरणमा लामो समयसम्म ढिलाइ हुँदा सर्वत्र आशंका र समस्या उत्पन्न भएको धारणा राखेका थिए।

पेलिएको भन्दै गौतम आक्रोशित

बैठकमा नेता गौतमले आफूलाई धेरै पेलिएको र पार्टीकै केही नेता नै आफूविरुद्ध लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए। गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीतर्फ इंगित गर्दै चेतावनी दिएका थिए। ‘सरकारमा दुईतिहाइ छ, संविधान संशोधन गरेर भए पनि दुईजना प्रधानमन्त्री बनाउनुहोस्’,एक सहभागीले गौतमको भनाइ उद्धृत गरे। यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मिल्ने भए दुईजना प्रधानमन्त्री भएर देश चलाउँथ्यौं भनी दिएको अभिव्यक्तिप्रति गौतमको प्रतिक्रिया आएको हो। ओलीले पार्टीमा झगडा बढाउन खोजेको परोक्ष आरोप गौतमप्रति लगाएका थिए। पार्टी अध्यक्षद्वय र दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई चुनौती दिँदै २९ मंसिरको बैठकमा गौतमले १६ पृष्ठ लामो फरक मत प्रस्तुत गरेका थिए। त्यस क्रममा उनले उपनिर्वाचनका सन्दर्भमा आफूलाई निकै खेद्ने काम भएकाले फरक मत राख्न बाध्य भएको बताएका थिए। ‘काठमाडौँ–७ बाट मैले उपनिर्वाचन लड्ने कुरालाई निकै गलत ढंगले प्रचार गरियो, मविरुद्ध पार्टीभित्रकै साथीहरु लागे, मलाई लखेट्नसम्म लखेटियो’, उनले बैठकमा भनेका थिए। सोमबारको बैठकमा वेदुराम भुसालले विधानविपरीत पार्टी सञ्चालन भएको टिप्पणी गरेका थिए भने घनश्याम भुसालले सरकार र पार्टी सञ्चालन विषयमा ३० बुँदे सुझाव दिएका थिए। बैठकमा सहभागी योगेश भट्टराईले सोमबार बोल्ने अधिकांश सदस्यले सरकार र पार्टी सञ्चालन पद्धतिबारे धारणा व्यक्त गरेको बताए। ‘सरकारलाई लोकप्रिय बनाउने र पार्टी एकीकरण टुंग्याउने विषयमा सबै नेताको चासो रहेको पाइयो। उहाँहरुले बनाउन बाँकी कानुन बनाएर भए पनि आफ्नो लोकप्रियता बढाउन सरकारलाई सुझाव दिएका छन्  भट्टराईले भने। अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपा स्थायी समितिमा ४५ सदस्य छन्। सोमबारको बैठकमा १० जनाले मात्रै आफ्नो धारणा राखेका थिए। सबै नेताले बोलिसक्न अझै केही दिन लाग्ने देखिन्छ।