राष्ट्रिय सभा निर्वाचनका लागि छापियो दुई रङका मतपत्र

प्रकाशित मिति:

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले छपाइ गरेको छ।यही माघ १२ गते रिक्त १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन गइरहेको छ।उक्त निर्वाचनका लागि २०२५ जना मतदाता छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन्।

आयोगका अनुसार स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यका लागि भिन्नाभिन्नै रङका मतपत्र छपाइ गरिएका छन्।रातो रङको मतपत्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् भने हरियो रङको मतपत्रमा प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन्।स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ।

रिक्त १९ पदमा विभिन्न १२ राजनीतिक दलबाट ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।मुख्यगरी सत्तारूढ ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन् भने एमालेले १९ पदमै उम्मेदवार उठाएको छ।आयोग स्रोतका अनुसार छपाइ गरिएका मतपत्र अब सबै प्रदेशस्थित निर्वाचन अधिकृत कार्यालयमा पुर्‍याइनेछ। माघ ७ भित्र मतपत्र सबै प्रदेशहरूमा पुर्‍याइने आयोगले जनाएको छ।