लुम्बिनीका मेसु डा. ईन्द्र ढकालले गरे आफ्ना सयदिने काम सार्वजनिक

प्रकाशित मिति:

मिना ढकाल, बुटवल, माघ ३ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकालले आफुले गरेका १ सय दिनका काम र अस्पतालको सुधारका प्रयासहरु सार्वजनिक गरेका छन् । अस्पतालमा सन्चारकर्मीसामु आफ्ना काम र प्रयासहरु सार्वजनिक गर्दै डा. ढकालले लामो समयदेखि चिकित्सकीय परामर्श र शल्यक्रियाको लागि लामो समय कुर्नुपर्ने समस्यालाई क्रमिक रुपले सहज बनाउदै लगिएको बताए । एकसय दिनका काम र सुधार प्रयासलाई १९ बुंदामा सार्वजनिक गर्दै मेसु डा. ढकालले दैनिक करिब १ हजार बिरामी आउने लुम्बिनी अस्पतालमा १२ देखि १५ जना बिरामीले दैनिक रुपमा शल्यक्रिया सेवा लिएको, बिरामीको माग अनुसार १२ बेडको पेइंग वार्डको सेवा सन्चालन गरेको, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्थान संग एमडी र एमएस अध्ययन अध्यापनको निम्ती सम्झौता गरिएको लगाएतका कामहरु उल्लेख गरेका छन् ।

यसका साथै अस्पतालमा अत्यावश्यक क्याथ ल्यावको लागि टेन्डर आब्हान गरिएको, एमआरआईको लागि टेन्डर प्रकृया अघि बढाईएको, दुर्घटनाका घाईते बिरामीका लागि ट्रमा रूम स्थापना गरिएको र न्यूरो सर्जरी विभागलाई व्यवस्थित गर्दै चार सैयाको न्यूरो एचडीयु सेवा विस्तार गरिएको जस्ता आफ्ना महत्वपुर्ण कामको सुची डा. ढकालले संचारकर्मी सामु प्रस्तुत गरेका छन् ।मेसु डा.ढकालका अनुसार एमडीजिपी विशेषज्ञ डाक्टरलाई परिचालन गरि २२ बेडमा सिमित रहेको इमरजेन्सी वार्डमा १३ बेड थपगरि ३५ बेडमा विस्तार गरिएको छ । डा.ढकालका अनुसार बिरामीले आपतकालिन उपचारमा सहज उपलब्धता र गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सेवा सूरु गरिएको हो । आन्तरिक ब्यवस्थापनलाई सुधार गर्दै क्यासलेस डिष्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा ईमेरजेन्सी काउन्टरमा पनि पेपरलेस सिस्टम सुरुवात गरेको जनाएका छन् ।

कोभिड महामारीको सरल र सहज ब्यवस्थापन हेतु कोभिड सम्बन्धि उपचार सम्पूर्ण रुपमा एउटै छाना मुनि हुने ब्यवस्था गरि कोभिड ईमरजेन्सी सेवा विस्तार गरिएको छ भने बिरामीको सहज उपचार, अस्पतालको सरसफाई र संक्रमण घटाउने उद्देश्यका साथ बिरामीका आगन्तुक समय निर्धारणको साथै भिजिटिङ्ग कार्डको पनि सुरुवात गरिएको डा. ढकालले बताएका छन ।मृगौला पिडित बिरामीका लागि बिगतमा पाँच बेडमा संचालनमा रहेको डायलाइसिस सेवालाई १२ बेड थपगरी १७ बेडमा सेवा विस्तार गरिएको छ भने एचआईभी र हेपटाईटिस सम्बन्धी बिरामीको डायलाइसिसका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यतालाइ अन्त्य गर्न २ बेड सेरो पोजिटिभ डायलाइसिस सेवा स्थापना गरिएको छ । कोभिड महामारीमा अक्सिजन ब्यवस्थापन सहज गराउनका लागि अक्सिजन प्लान्ट स्थापना गरी पाइपलाइन बिस्तार गर्ने काम सकिएको यस्तै दाँत तथा मुख स्वास्थ्यको अति आवश्यक जाँच सि.बि.आर.टी पनि संचालन गरिएको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको यो सेवा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक सरकारी अस्पतालमा भएको दावी गर्दै डा. ढकालले न्यूरोलोजी विभाग अन्तर्गतको अति महत्त्वपूर्ण ई.ई.जी सेवा विस्तार गरिएको जानकारी गराए । अस्पतालका सेवा बारे फेहरिस्त प्रस्तुत गर्दै उनले भने—‘बिरामीको सुबिधा मध्यनजर गर्दै स्त्री रोगको ओपीडी र ईसिजी सेवा व्यवस्थित र सहज ठाउँमा ब्यवस्थापन गरिएको छ ।’
अस्पतालको सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउनु नै आफ्नो मेल लक्ष रहेको उल्लेख गर्दै डा. ढकालले भने—‘हप्तामा दुई पटक ईन्डोषकोपी हुने सेवा हप्ताको चार पटक हुने व्यबस्था गरिएको छ । एक दिन बिराएर उपलब्ध भइरहेको गर्भवती जाँच र स्त्री रोग जाँच लाई नियमित हरेक दिन हुने व्यबस्था गरिएको छ । बिगत लामो समयदेखि रोकिएको विकास समितिको भत्ता र आमा सुरक्षा कार्यक्रम भत्ता वितरण गरि कर्मचारीमा थप उर्जा र लगनशिलताको साथ काम गर्ने वातावरण सिर्जना भएको छ ।’ कर्मचारीलाई प्रोत्साहन गर्नु र बिरामीले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्नु आफ्नो मुल उद्देश्य रहेको डा. ढकालको भनाई छ ।