बजेटको अर्थवार्षिक समीक्षा सुरु : विकास खर्च ३ वर्ष यताकै कम

प्रकाशित मिति:

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सुरु गरेको छ । मन्त्रालयले गएको दुई आर्थिक वर्षको पहिलो ६ महिनाको राजस्व र खर्चसँग चालु आर्थिक वर्षको सोही अवधिको तथ्याङ्कलाई तुलना गर्न सुरु गरेको छ ।पछिल्ला तीन आर्थिक वर्षको राजस्व संकलन यो वर्ष लक्ष्यको सबैभन्दा माथि देखिएको छ भने खर्च तर्फ पुँजीगतमा सबैभन्दा कमजोर अवस्था देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातबाटै देखिएको उच्च आयातले राजस्व सुरुवातबाट नै लक्ष्य अनुसार नै उठेको छ ।

 

आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष २०७८/०८९ को पुस मसान्तसम्म लक्ष्यको ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।यता बजेट खर्चतर्फ चालु र वित्तीय व्यवस्थातर्फ गतएको दुई आर्थिक वर्षको तुलनामा राम्रो अवस्था देखिएको छ । तर, पुँजीगततर्फ भने सबैभन्दा कमजोर अवस्था देखिएको छ । वित्तीय व्यवस्थालाई पनि पुँजीगत खर्च नै मान्ने हो भने अर्धवार्षिक अवधिमा विकास खर्च गएको दुई आर्थिक वर्षको अवस्थामा रहेको देखिन्छ ।आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थन्त्रालयको दाबी छ । यता वित्तीय व्यवस्थातर्फ अर्धवार्षिक अवधिमा आव २०७६/०७७ मा २२ दशमलव ४४ प्रतिशत, आव २०७७/०७८ मा १३ दशमलव ०६ प्रतिशत खर्च भएकोमा चालु आर्थिक वर्षमा २६.१२ प्रतिशत पुगेको छ ।चालु खर्चको अवस्था भने चालु आर्थिक वर्षका सबैभन्दा राम्रो देखिएको छ । आब २०७६/०७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत र आव २०७७/०७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेका थियो । तर, चालु आवको पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत पुगेको छ ।