सहयोग रकम दुरुपयोग भएको छैन, चाँडै खर्च विवरण सार्वजनिक गर्छाैँ : धुर्मुस-सुन्तली फाउन्डेसन

प्रकाशित मिति:

काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस(सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।’

सहयोगी दाताले दिएको रकम हिनामिना भएको भन्दै आइतबार फाउण्डेशनविरुद्द मुद्दा दायर भएको थियो । फाउन्डेसनविरुद्द उजुरी परेको भोलिपल्टै धुर्मुस–सुन्तलीले विज्ञप्तिमार्फत खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएका हुन् । साथै, प्राप्त सहयोग रकम दुरूपयोग नभएको पनि फाउन्डेसनले स्पष्ट रूपमा भनेको छ ।साथै, आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा उल्लेख भएअनुसार फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाएको हो ।

सोभन्दा पहिले फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।