सैनामैनामा बुधवारदेखि समुदाय स्तरमा एन्टिजेन परिक्षण

प्रकाशित मिति:

माघ ४, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले (कोभिड—१९) का सम्भावित विरामीको समुदाय स्तरमा एन्टिजेन परीक्षण गर्ने भएको छ ।अहिले कोरोना भाइरस र तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेकोले समुदाय स्तरमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन र संक्रमित व्यक्तिलाई छुट्टाएर आइसोलेसनमा राखेर उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परिक्षण गरिने नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ५ गते अर्थात् भोलिदेखि समुदाय स्तरमा एन्टिजेन परीक्षण गरिनेछ ।
कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुलाई तोकिएका स्थानमा आई परिक्षण गर्न प्रमुख कार्कीले आग्रह गनुभयो ।
वुधवार अर्थात् माघ ५ गते वडा नं. १ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म, वडा नं. २ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परिक्षण गरिने भएको छ ।

त्यस्तै माघ ६ गते पर्रोहा स्वास्थ्य चौकीमा वडा नं. ३ का लागि बिहान १० देखि १२ बजे सम्म समय तोकिएको छ भने वडा नं. ४ का लागि दिउँसो २ देखि ४ बजे सम्म सोही स्थानमा समय तोकिएको हो ।माघ ७ गते वडा नं.५ को बुद्ध स्टार क्लव भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा नं. ६ को दुधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजे सम्म एन्टिजेन परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै पालिकाका अनुसार माघ ९ गते वडा नं. ७ को वडा कार्यालय देउवापार र वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ ।माघ १० गते वडा नं.९ को वडा कार्यालयमा बिहान १० देखि १२ सम्म र वडा नं. १० को वडा कार्यालयमा दिउँसो २ देखि ४ बजे सम्म परीक्षण हुने भएको छ । त्यस्तै माघ ११ गते वडा नं. ११ को कोटियादेवी मावि तालिमा बिहान १० देखि १२ बजे सम्म एन्टिजेन परीक्षण हुनेछ ।

नगरपालिकामा हालसम्म ५७ हजार बढीले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको खोप लगाएका छन् । नगरका ११ वटै वडाका गरि कूल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । नगर प्रमुख कार्कीका अनुसार पहिलो खोप लगाउनेमा ४७ हजार ६ सय ४० जना रहेका छन् । जसमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका पनि छन् । त्यस्तै पहिलो खोप लगाउनेको विद्यार्थीको संख्या ९ हजार ९ सय ९९ रहेको छ । नगरमा पूर्ण खोप अर्थात् दुबै खोप लगाउनेको संख्या ४२ हजार ३ सय १२ जना रहेको पालिकाले जनाएको छ ।