पुनर्निर्माणको बाँकी काम छिटो सक्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति:

४ माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुनर्निर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन् ।मंगलबार गृह मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गुठी संस्थानका अध्यक्ष पुण्य भुसाल लगायतसँग भूकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुनर्निर्माणबारे जानकारी लिएका हुन् ।

बैठकमा भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक संरचनाको पुनर्निर्माण अहिलेसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन् र पुनर्निर्माण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के(के योजना छन् भन्नेबारेमा मन्त्री खाँणले जिज्ञासा राखेका थिए ।बैठकमा सहभागीहरूले गृहमन्त्री खाँणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराए ।गृहमन्त्री खाँणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुनर्निर्माणमा मौलिकता हराउन नहुने भन्दै मौलिकता झल्किनेगरी निर्माण गर्न निर्देशन दिए । अहिले पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै उनले पुनर्निर्माण गर्न बाँकी रहेका त्यस्ता संरचनाहरु छिटो सक्न निर्देशन दिए । उनले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताए ।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुनर्निर्माणको काम स्थानीयलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने अनुभव आफूहरुसँग रहेको बताए । उनले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ सिकेको पनि जानकारी गराए ।