तेस्रो जनआन्दोलनको घोषणा !

प्रकाशित मिति:

‘ओली–प्रचण्डलाई भण्डाफोरले मात्रै पुग्दैन : भण्डाफोर त ओली प्रचण्डको धुमबाराही र देउवाको पार्टी प्यालेसमा भइरहेकै छ’

काठमाडौं पुष ३ । तत्कालीन एमाले र माओवादी एकताकै पृष्ठभूमिमा तेस्रो जनआन्दोलनको विजारोपण भएको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर मोर्चाका अध्यक्ष सीपी गजुरेलले तेस्रो र ऐतिहासिक जनआन्दोलन सुरु भएको घोषणा गरेका हुन् । उनले भने, ‘वर्तमा सरकार र कथित कम्युनिष्ट एकताकै पृष्ठभूमिमा जनआन्दोलन विजारोपण भएको छ ।’ वर्तमान सरकारले सुरुवातमा सम्वृद्ध नेपाल सुखी नेपालीको नारा दिएर १० महिना नपुग्दै जनतालाई निरास पारेको भन्दै गजुरेलले केपी ओली र प्रचण्डको अब भण्डाफोरले मात्रै नपुग्ने बताए ।

सत्ताधारी नेकपाको स्थायी कमिटी बैठक र कांग्रेस महासमिति बैठकमा उठेका कुरा कोट्याउँदै उनले भने, ‘केपी ओली र प्रचण्डको धुमबाराहीमा भण्डाफोर भइरहेको छ । यस्तै, शेरबहादुरको सिंहदरबार अगाडिको पार्टी प्यालेसमा भण्डाफोर भइरहेको छ । तर, के फरक परेको छ । अब भण्डाफोरले मात्रै पुग्दैन । फेरि जनआन्दोलनको खाँचो छ ।’ त्यो पनि ऐतिहासिक जनआन्दोलन ।

पटक–पटक भएका आन्दोलनको उपलब्धी खेरगइरहदा फेरि आन्दोलनले सम्वृद्धि ल्याउँछ भन्ने के ग्यारेन्टी भन्ने संचारकर्मीको प्रश्नमा नेता गजुरेलले, ‘हिजो एमाले नेतृत्वको सरकार हुँदा हामीले जनयुद्ध छेडेको हो । जंगल पसेको हो । तर, अहिले आएर जनयुद्ध लडेको नेता त्यही एमालेसँग विलय हुन पुग्यो । यो अचम्म होइन । संसारमा यस्तो घटना भएको विरलै भेटिन्छ ।’ उनीहरुले आन्दोलन दबाउने क्षेप्यास्त्र प्रहार गर्ने ठाउँ थुप्रै राखेको भएपनि आन्दोलनले त्यसलाई परास्त गर्ने र परिवर्तन सुनिश्चित रहेको गजुरेलको तर्क छ ।

पत्रकार सम्मेलनमा नेता गजुरेलले देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय संगठन समितिको पूर्ण बैठकले आउँदो फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म मेची–महाकाली जनजागरण तथा जनपरिचालन अभियान थाल्ने जानकारी दिए । अभियानको उदघाटन काठमाडौं, चितवन, झापा र कञ्चनपुरमा एकैसाथ गरिने उनले बताएका छन् ।

हाम्राकुरा