नेवि संघको मास्क मुभमेन्ट सुरु !

प्रकाशित मिति:

काठमाडौं, ३ पुुस । वातावरणीय प्रदूषण नियन्त्रण गरी काठमाडौं महानगरलाई स्वच्छ बनाउन माग गर्दै नेपाल विद्यार्थी संघले ‘मास्क मुभमेन्ट’ गर्ने भएको छ । त्यसका लागि कम्तिमा दुई हजार विद्यार्थीले विहीबार काठमाडौं महानगरपालिकाको कार्यालय घेर्ने भएका छन् । संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाईमा विद्यार्थीले मास्क मुभमेन्ट गर्न लागेका हुन् । मास्क लगाएका विद्यार्थीले स्वास फेर्ने वातावरण बनाउनुपर्ने भन्दै महानगरलाई दबाब दिनेछन् । काठमाडौंमा धेरै भन्दा धेरै विद्यार्थी र सर्वसाधारणले सार्वजनिक स्थानमा स्वास फेर्न नै कठिन भएपछि स्वास्थ्यका लागि पनि दबाबमा उत्रिन परेको त्रिपाठी बताउँछन् ।

‘वातावरणीय प्रदूषणका कारण काठमाडौंमा बाँच्न नै कठिन भइसकेको छ । यसमा महानगरपालिकाले ध्यान दिएको पाइएन, दबाबका लागि कार्यक्रम गर्न लागेका हौं’, त्रिपाठी भन्छन्,‘स्थानीय सरकारको दायित्वमा पर्ने काममा किन ढिलाई गरिएको हो ? स्वच्छ काठमाडौंको नाराले मात्र पुग्दैन ।’ वायु प्रदूषणको प्रभाव स्वास्थ्यमा मात्रै सीमित छैन । यसको नकारात्मक असर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत परिरहेको छ । पर्यटक आगमन, सडक तथा हवाई आवागमन, शहरी सुन्दरतादेखि बसाइँसराइमा समेत प्रदूषणले प्रभाव पारिरहेका कारण सांकेतिक रूपमा  मास्क भुममेन्ट गर्न लागिएको त्रिपाठी बताउँछन् ।

उनी थप्छन्,‘समग्र जनताको स्वास्थ्यका सवालमा महानगर गम्भिर र सचेत बन्नुपर्छ । त्यसका लागि हामीले दबाब कार्यक्रम गर्न लागेका हौं ।’ काठमाडौंमा प्रदूषण ज्यादा भएका कारण नै पर्यटन व्यवसायीहरू सकेसम्म धूलो कम भएको मौसममा पर्यटक बोलाउँछन् । फागुन, चैत र वैशाखमा धूलोकै कारणले पर्यटक कम आउँछन् । ‘यस्तो जर्जर अवस्थाको अन्त्य हुनुपर्छ कि पर्दैन ? स्थानीय सरकारको पहुँचभित्रको काम नगरेपछि दबाब दिन लागेका हौं’, त्रिपाठी जोड्छन्,‘दम, हृदयघातका बिरामी, बच्चा, वृद्धहरू भएको सम्पन्न परिवार स्वच्छ हावाकै खोजीमा उपत्यकाको चक्रपथबाहिर निस्कने क्रमको पनि न्युनिकरण हुन आवश्यक छ ।’ सवारी साधनदेखि फोहोरको उचित व्यवस्थापनमा महानगर गम्भिर नभएकाले पनि विद्यार्थीले सांकेतिक विरोध र दबाबको कार्यक्रम गर्न लागेको नेवि संघका मनिष सिम्खडाले बताए ।