राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरुमा नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार छन्।गठबन्धनका पन्तले ३ हजार ८४ मतभार पाएर विजयी भइन् भने उनका प्रतिश्पर्धी एमालेका लीला थनेतले २ हजार ७ सय २४ मतभार पाएकी थिइन्।माओवादीका तर्फबाट उम्मेदवार बनेका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर विजयी भए भने उनका प्रतिश्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मतभार पाए ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रकै अर्का उम्मेदवार भुवन सुनार ३ हजार ४८ मतभार पाएर निर्वाचित भए । उनका प्रतिश्पर्धी अर्जुनकुमार सुनाम २ हजार ७२४ मतभार पाए।राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दिननाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदा असारमा पदावधि सकिँदैछ।तत्कालीन नेकपाबाट निर्वाचित ३ जनामध्ये शर्मा र विक माओवादी केन्द्रमा छन् भने अधिकारी नेकपा एकिकृत समाजवादीमा छिन् । गोलाप्रथाबाट उनीहरुको कार्यकाल ४ बर्ष कायम भएको थियो । उनीहरुको पदावधी सकिएर रिक्त हुने सिटमा बुधबार निर्वाचन भएको हो । निर्वाचन कर्यालय कास्कीका अनुसार गण्डकीमा २२७ जना जनप्रतिनिधीले मतदान गरेका थिए । गण्डकी प्रदेश सभाका ५९ जना सांसद, गण्डकीका ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा जनमोर्चाले सांसद कृष्ण थापालाई कारबाही गरेपछि उनको स्थान रिक्त छ । यस्तै, प्रदेशभर स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७० जना रहेकोमा २ जना मतदानमा सहभागी भएनन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिका उपप्रमुख निर्वाचित सुरेन्द्र खड्का र मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख लोप्साङछोम्पेल विष्ट मतदानमा सहभागी भएनन् । राप्रपाका खड्का पार्टी केन्द्रका निर्देशन अनुसार मतदानमा भाग लिएनन् भने मुस्ताङका विष्ट अमेरिकामा रहेकाले मतदानमा सहभागी नभएको जनाएको छ ।पार्टी केन्द्रका निर्देशन विपरित राप्रपाबाट निर्वाचित बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवाल भने मतदानमा सहभागी भए । राप्रपाले प्रदेश १ बाहेक अन्यत्र मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।गण्डकीमा ५ दलीय गठबन्धनको ३ हजार २५२ मतभार छ भने प्रतिपक्षी एमालेको कुल मतभार २ हजार ५५६ छ।