१९ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् ।बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताए ।
‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ’ उनले भने, ‘ त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उनले भने । ।
सत्तारुढ गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको भन्दै नेता नेपालले राष्ट्रिय सभा निर्वाचनबाट सुरु भएको चुनावी गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि जारी रहने बताए ।