लुम्बिनी प्रदेशसभाको स्थापना भएको आज ४ वर्ष पुगेको छ । विगतमा गाडी खरिद प्रकरणदेखि धेरै प्रदेशको राजधानी तोक्दा कुर्ची तोडफोडसमेत गरेर चर्चामा आएको लुम्बिनी प्रदेशसभामा अहिले प्रतिपक्ष एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ भने सत्तापक्षको मत राखेको पार्टी जनमोर्चाको भूमिका दोहोरो देखिएको भन्दै प्रश्न उठेको छ ।
जनमोर्चाकी सांसद तारा जि।सी।लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कूलप्रसाद केसीलाई समर्थन गर्दै मत राखे पनि अहिले प्रतिपक्षको सिटमा बस्ने गरेकी छन् । त्यसैलाई आधार मान्दै सभामुखले बैठक चलाउने गरेका छन् । प्रतिपक्ष एमालेले अजयबहादुर शाही र विमला ओलीले सूर्य चिन्ह प्रयोग गरी सांसद जितेकोले आफूहरूकै सांसद रहेको दाबी गर्दै उनीहरूलाई सभामुखले कारबाही नगरी काखी च्यापेको आरोप लगाएको छ । त्यो विषय अहिले अदालतसम्म पुगेको छ । जहाँ सभामुखलाई समेत विपक्षी बनाइएको छ ।विगतमा आर्थिकदेखि अन्य लफडा पर्ने प्रदेश सभा अहिले राजनीतिको असर परेको छ । साउन २८ गते एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्दै पाँच दलीय गठबन्धनको सरकार बनेपछि लगातार भएको अवरोधले लुम्बिनी प्रदेशसभा पनि बिजनेसविहीनजस्तै बनेको छ ।
गठबन्धन सरकार बनेपछि आयोजित प्रदेशसभाको नवौँ अधिवेशनका कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमाले लुम्बिनी प्रदेश सभा सचिव भोज प्रसाद श्रेष्ठले सरकार र सभामुखको कमजोरीका कारणले जनताको आवाज उठाउने प्रदेशमा ठप्पजस्तै बन्न पुगेको आरोप लगाउँछन् । उनले प्रतिपक्षलाई हातमा लिन नसक्नु सरकार र सभामुखको कमजोरी रहेको दाबी गर्दछन् । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभाको काम नियमित भएको दाबी गरेका छन् । उनले भने, ‘हामीले गर्नुपर्ने धेरै काम गरेका छौँ ।’